ई–आर्थिक, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन तथा कुमारी बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएकोे १० बर्षे बन्दमुखि योजना रहेको रु १० अकिंत दरको ८,००,००,००० (आठ करोड) इकाइको ‘कुमारी ईक्वीटी फण्ड’ निष्काशन हुने भएको छ । सो मध्ये १५ प्रतिशत अर्थात १,२०,००,००० इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाई यही फाल्गुन १४ गते शुक्रबार देखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिने भएको हो ।
योजना ब्यवस्थापन गर्ने कुमारी क्यापिटल लिमिटेडले इक्रा नेपालबाट एएमसी ३ रेटिङ्ग प्राप्त गरेको छ । योजना सुर्यप्रसाद कोइराला, भरतराज पोखरेल, कृष्णप्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजितकुमार तिमल्सिना गरी ५ जना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुनेछ ।
योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रिबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । नेट एसेट भ्यालु रु १० बाट सुरु भई अन्तिम वर्ष (लाभांश वितरण पश्चात) सम्म रु २२.४९ पुग्ने प्रक्षेपण गरिएको छ ।
लाभांश र पूँजी वृद्वि समेत गरी औषत प्रतिफल : २२ प्रतिशत प्रक्षेपण गरिएको छ । शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ ।
व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्रबजारबाट प्राप्त हुने लाभ लिन सकिने छ । निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिनेछ ।
यस योजनाको इकाईमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने ब्यवस्था छ । आवेदन गर्दा न्युनतम १,०० इकाई र अधिकत ८०,००,००० इकाई सम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संस्थाहरुले फागुन २८ गते सम्म आवेदन दिने ब्यवस्था गरिएकोे कुमारी क्यापिटलले जानकारी दिएको छ ।