ई–आर्थिक, काठमाडौं । भारतको धार्मिक पर्यटकीयस्थल हरिद्वारमा कुम्भ मेला चलिरहेको बेला माथिबाट हिमताल फुटेर भीषण बाढी आएको छ । आइतबार हिमताल फुटेपछि धौनीनन्दा नदीको जलस्तर अचानक बढेको थियो । उक्त बाढीमा परी सयौंको ज्यान गएको प्रारम्भीक अनुमान छ ।
उत्तराखण्डका मुख्य सचिव ओम प्रकाशले एक भारतीय मिडियालाई बताए अनुसार १ सयदेखि ५० जना मारिएको शंका गरिएको छ । चमोलीको तपोवन क्षेत्रमा भएको यो घटनामा ऋषिगंगा पावर प्रोजेक्टलाई ठूलो क्षति पुगेको बताइएको छ । उक्त प्रोजेक्टमा काम गर्ने ठूलो संख्यामा मजदूर बेपत्ता भएका छन् ।
नदीको किनाराका कैयौं घर पानीमा बगेका छन् । आसपासका गाउँलाई खाली गराइँदै गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ऋषिगंगाका अलावा एनटीपीसीको पनि एक परियोजना क्षतिग्रस्त भएको छ ।
अत्यन्तै बेगका साथ आएको उक्त बाढीले तपोवन बाँध, श्रीनगर बाँध र ऋषिकेश बाँध पनि क्षतिग्रस्त भएका छन् । टीबीपी, एसडिआरएफ र एनडीआरएफका टिमहरु घटनास्थल पुगेका छन् । रेड अलर्ट जारी गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार उत्तराखण्डको हालको निगरानी गरिरहेको सञ्चार माध्यमलाई बताएका छन् । एनडीआरएफका केही टिम देहरादूनबाट जोशीमठ पठाइएका छन् । दिल्लीबाट एयरलिफ्ट गरेर केही टिम देहरादून पठाइनेछन् । उत्तराखण्ड पुलिसका अनुसार श्रीनगर, ऋषिकेश र हरिद्वारमा पानीको स्तर खतराको चिन्हभन्दा माथि पुगिसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतसँग फोनमा कुरा गरेका छन् ।
मुख्यमन्त्री रावतका अनुसार नन्दप्रयागअगाडि अलकनन्दा नदीको बहाव सामान्य भएको छ । उनी आफू पनि चमोली गइसकेका छन् । उनले जनतासँग हल्लाप्रति ध्यान नदिन आग्रह गरे । उत्तर प्रदेशमा पनि हाइअलर्ट जारी गरिएको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले गंगा किनारका सबै बस्तीमा जलस्तरमाथि निगरानी गर्न निर्देशन दिएका छन् । अहिले हरिद्वारमा कुम्भ मेला चलिरहेको छ । त्यसैले राज्य सरकारले यहाँ पनि हाइ अलर्ट जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।