ई–आर्थिक, काठमाडौं । दुईवटा संदिग्ध रसियन हेलिकप्टर अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरिएको छ । रिफ्युलिङ्ग तथा प्राविधिक समस्या देखाउँदै उक्त हेलिकप्टर २ जनवरीमा काठमाडौं अवतरण गरिएको थियो ।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं विमानस्थलमा अवतरण गरी ९ जनवरी २०२१ दिल्ली जाने उडान तालिका पेश गरी नागरिक उडड्यन प्राधिकरणबाट उडान अनुमति पाएर आएका ती हेलिकप्टर क्रिगिस्तानमा दर्ता भएका रसियन हेलिकप्टर भएको बुझिएको छ ।
एमआई–८ उक्त हेलिकप्टर अझैसम्म नउडेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । शंकास्पद किसिमले काठमाडौंमा अवतरण गरिएका ती हेलिकप्टर किन र कसले ल्याएको भन्ने अझैं पनि स्पष्ट हुन नसकेको सो स्रोतले उल्लेख गरेको छ । ती हेलिकप्टर खरिद गर्ने प्रयोजनले कुनै व्यापारीले मगाएकोे हुनसक्ने आशंका गरिएको छ ।
ती दुबै हेलिकप्टर १५ दिनदेखि अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा रहेका छन् । प्राधिकरणको पटक–पटकको निर्देशनका बाबजुद पनि ती दुबै हेलिकप्टर विमानस्थलबाट उड्न अटेर गरिरहेको प्राधिकरण स्रोत बताएको छ ।
ती हेलिकप्टर अबपनि नउडे थप कारवाही गर्ने तयारी भइरहेको स्रोतको भनाई छ । ‘अब पनि नउडे सम्बन्धित देशको नागरिक उडड्यन प्राधिकरणलाई पत्र लेखेर कारबाही अगाडी बढाइनेछ ।’ प्राधिकरण स्रोतले भन्यो– ‘प्राधिकरणको पटक–पटकको निर्देशन ती हेलिकप्टरले मानेन् ।’