इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब बराबरको ८ करोड कित्ता साधारण सेयरको विक्री आजदेखि खुलेको हो
ई–आर्थिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे ८ अर्ब बराबरको सार्वजनिक निष्काशन आजदेखि गरेको छ । यो बैंकको सेयरका लागि माघ ६ गतेसम्म भर्न सकिने बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ । सबै बिक्री नभएको अवस्थामा भने माघ १६ गते निष्काशन बन्द हुनेछ ।
यस निष्काशनका लागि यस अघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्ती गरिसकेको छ ।
यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुन गईरहेको कम्पनीले जानकारी दिएको छ ।
२० अर्ब चुक्ता पूंजी रहेको यस बैंकको १२ अर्ब संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बांकी रकम यसै निष्काशनबाट चुक्ता हुनेछ ।
हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशनका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।
यो निष्काशनलाई लगानीकर्ताले प्रतिफलयुक्त अवसरको रुपमा लिने अनुमान लगाइएको छ । भर्ने सबैजसोलाई पर्ने भएकाले पनि यो सेयर निष्काशन पूर्व यसको चर्चा शिखरमा पुगेको छ ।
कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ४० लाख कित्ता शेयर छुट्याएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिने जनाएको छ ।
प्रतिकित्ता १०० का दरले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । यो हालसम्मकै ठुलो आइपीओ भएकाले एक जनालाई ७० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको छ । त्यसर्थ न्यूनतम ७० देखि १०० कित्तासम्मका लागि आवेदन दिंदा राम्रो हुने यस क्षेत्रका जानकार बताउँछन् ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना बैंक तथा वित्तिय संस्था, जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।