ई–आर्थिक, सुनसरी : सुनसरीको धरान–१२ महेन्द्रपथमा रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाउनेलाई प्रहरीले पक्राउ गरेको छ । एटीएम फुटाउने सुनसरीको कोशी गाउँपालिका–३ कोशीकटान जुद्धगञ्ज घर भई धरान–३ पुरानो बजारमा डेरा गरी बस्ने २३ वर्षीय सुभान मन्सुरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
आइतबार साँझ ७ बजेतिर एनआइसी एसियाको कार्यालय अगाडिको एटीएम मेसिन फुटाएर नगद झिक्न खोजेपनि नसकेपछि मन्सुरी फरार रहेका थिए ।
एटीएम फुटाएपनि नगद भने निकाल्न नसकेपछि उनी फरार रहेको प्रहरीको भनाई छ ।
बैंकको एटीएम भएको स्थानमा जडान गरेको सीसीटिभी क्यामेराको फुटेज हेरेर चोरीमा संलग्नको खोजी गर्दा प्रहरीले धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्रबाट मन्सुरीलाई फेला पारी पक्राउ गरिएको हो ।
मन्सुरी यसअघि गाउँमै पनि चोरी घटनामा पटकपटक पक्राउ परेका प्रहरीको भनाई छ ।
उनलाई मंगलबार नै चोरी उद्योग कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।