२०८३ साउन ९ शनिबार

कोभिडका कारण प्राधिकरणको आम्दानी ८० प्रतिशत घट्यो, उड्डयन क्षेत्रलाई पनि अर्बौं रुपैयाँ घाटा

ई आर्थिक    बिहिबार, पौस १६ २०७७
8.5K
Shares
कोभिडका कारण प्राधिकरणको आम्दानी ८० प्रतिशत घट्यो, उड्डयन क्षेत्रलाई पनि अर्बौं रुपैयाँ घाटा

तस्विर सौजन्य ज्ञानेन्द्र भुल

ई–आर्थिक, काठमाडौं । कोभिड–१९ का कारण नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी ह्वात्तै घटेको छ । प्राधिकरणको आम्दानी ८० प्रतिशत अर्थात ५ अर्ब ६९ करोड रुपैयाँ घटेको प्राधिकरणको २२ औं बार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो ।

कोभिडका कारण नेपालको उड्डयन क्षेत्रले पनि अर्बौं रुपैयाँ गुमाउनु परेको महानिर्देशक राजन पोखरेलले कार्यक्रममा जानकारी दिए । महानिर्देशक पोखरेलका अनुसार नेपाल बायुसेवा निगमले झण्डै ५ अर्ब, हिमालयन एयरलाइन्सले झण्डै २ अर्ब र आन्तरिक तर्फका हवाई जहाज र हेलिकोप्टर अपरेटरहरुले करिब १० अर्ब ६२ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको छ ।

कार्यक्रममा दिइएको जानकारी अनुसार कोभिड रोकथामका लागि लकडाउन भएपछि अहिले सम्मको अवधिमा अन्तर्राष्ट्रिय उडानमा ८६ प्रतिशत र आन्तरिक उडानमा ८३ प्रतिशत हवाई यात्रु घटेको छ ।

सो कार्यक्रममा देशभर ५५ वटा एयरपोर्ट रहेकोमा ३६ वटा कालोपत्रे गरिएको र त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा रहेको महानिर्देशक पोखरेलले जानकारी दिए । त्यसैगरी २० वटा एयरपोर्ट सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच र शक्तिको आधारमा एयरपोर्ट बनाइएको बताइयो ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले राजनीतिक पहुँच र शक्तिको आधारमा विगतमा विभिन्न जिल्लामा एयरपोर्ट निर्माण गरिएकोले अहिले धरै एयरपोर्ट सञ्चालनमा आउन नसकेको बताए ।

सो कार्यक्रममा बोल्दै मन्त्री ढकालले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्ने बताए ।नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने विषयलाई फरक ढंगले हेर्नुपर्ने उनको भनाई छ ।

नेपालको योग्यता नपुगेका कारण हो अथवा कुनैपनि देशको स्वार्थका कारण कालो सूचीमा राखिएको हो भन्ने सम्बन्धमा अन्तरवस्तु केलाएर हेर्नुपर्ने मन्त्री ढकाल बताउँछन् ।

कसैले कालो सूचीमा राखेर आफ्ना स्वार्थ पूरा गर्नका लागि अतिरिक्त दवाव दिन खोजेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई भन्न सक्नुपर्ने पनि मन्त्री ढकालले सो अवसरमा जानकारी दिए ।

प्राधिकरणका उपमहानिर्देशक नरेन्द्रबहादुर थापाले स्वागत मन्तव्य राखेका कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादबप्रसाद कोईराला, बायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष रामेश्वर थापा, आधिकारिक कर्मचारी युनियनका अध्यक्ष श्रवणकुमार यादवले उड्डयन क्षेत्रका विविध विषयको बारेमा प्रकाश पारेका थिए । सो कार्यक्रममा नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघका का.वा. अध्यक्ष लक्ष्मणकुमार गिरी लगायत कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो ।

प्राधिकरणको बार्षिकोत्सवको अवसर पारेर प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट लगायतका स्थानहरुमा दिपावली समेत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij