२०८३ साउन ९ शनिबार

भारतमा छ जनामा देखियो नयाँ प्रकारको भाइरस

ई आर्थिक    बुधबार, पौस १५ २०७७
14K
Shares
भारतमा छ जनामा देखियो नयाँ प्रकारको भाइरस

भारतमा एक करोडभन्दा धेरै मानिसलाई कोरोनाभाइरसको सङ्क्रमण भइसकेको छ

नयाँ दिल्ली : यूकेमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोनाभाइरसबाट ६ जना भारतीय पनि सङ्क्रमित भएको पुष्टि गरिएको छ । ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए ।

भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ।

यूकेसँगको विमानसेवामा रोक

भारतले गत साता नै कैयन् अन्य देशजस्तै यूकेबाट विमानसेवामार्फत् आवतजावतमा रोक लगाएको थियो । यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन् ।

एक करोडभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू फेला परिसकेको भारत त्यस मामिलामा विश्वमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।यूकेबाट आएका यात्रुहरूलाई सबै विमानस्थलमा पीसीआर परीक्षण गरिने सरकारी अधिकारीहरूले बताउने गरेका छन्।

तिनमा कोरोनाभाइरस पुष्टि भएमा ती नमुनाहरूलाई सरकारी प्रयोगशालामा आनुवंशिक परीक्षण गरेर कुन प्रकारको हो भनेर पत्ता लगाइन्छ ।

गत एक महिनामा यूकेबाट ३३,००० मानिस भारत आएको आँकडा छ। तीमध्ये ११४ जना पोजिटिभ पाइएको र तिनको नमुनाको थप परीक्षण भइरहेको बताइएको छ । क्यानडा जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ ।

यूकेमा केही समययता सङ्क्रमण निकै तेज गतिमा फैलिरहेको भन्दै त्यहाँका अधिकारीहरूले चिन्ता व्यक्त गरिरहेका छन्

सोमवार त्यहाँ ४१,३८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३५७ जनाको ज्यान गएको थियो ।

नयाँसँग डर

“यो नयाँ प्रकारको भाइरसले बरबाद पार्न सक्छ र हाम्रा स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त पारिदिन सक्छ,” भारतमा सयौँ कोरोनाभाइरसका बिरामीको हेरचाह गरिसकेका सघन उपचार विशेषज्ञ डा ए फताहुद्दीनले बीबीसीलाई बताए ।

नयाँ प्रकारको कोरोनाभाइरस सुरुमा सेप्टेम्बरमा इङ्ग्ल्यान्डमा देखा परेको थियो। केही सातायता लन्डन, अनि पूर्वी एवम् दक्षिणपूर्वी इङ्ग्ल्यान्डमा सङ्क्रमणको दर बढ्नुमा यसैलाई दोष दिइएको छ ।

नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण अघि सारिएका छन् :

  • यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ
  • यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ
  • प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ ।

यिनै कारणहरूले गर्दा भाइरसप्रति चिन्ता र चासो बढिरहेको बीबीसीका स्वास्थ्य एवं विज्ञान संवाददाता जेम्स ग्यालहरले बताएका छन्।

तर यो नयाँ प्रकारको भाइरस थप घातक भएको कुनै प्रमाण छैन । साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएको समाचार बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij