२०८३ साउन १० आइतबार

वर्तमान राजनीतिक घटनाक्रम अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण: निजी क्षेत्र

ई आर्थिक    सोमबार, पौस ६ २०७७
5.4K
Shares
वर्तमान राजनीतिक घटनाक्रम अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण: निजी क्षेत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन भएपछि उत्पन्न परिस्थितिप्रति निजी क्षेत्रले चिन्ता व्यक्त गर्दै पछिल्लो राजनीतिक घटनाक्रम मुलुकको अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको बताएको छ । २०६२/६३ को जनआन्दोलनबाट हातलागेको लोकतन्त्र प्राप्तिसँगै संविधान बनेपछि झन्डै दुई तिहाइ बहुमतसहित निर्वाचित नेकपा सरकारले नै राजनीतिक अवस्था तरल बनाउने गरी संसद् विघटनको खेल खेलेपछि अहिले निजी क्षेत्र थप निराश भएका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी हुन् । पछिल्लो समय दुई तिहाइको बलियो सरकारमा रहेको नेकपाभित्रको आन्तरिक कलहकै कारण विवेक गुमाएको राजनीतिक दलका नेताको कमजोरीले निजी क्षेत्रलाई थप संकटमा पारेको अधिकांश व्यवसायीको भनाइ छ । उनीहरूको संसद् विघटनपछि उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रम मुलुकको अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले संसद् विघटनपछि उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रम मुलुकको अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको बताए । अहिले विकास भइरहेको घटनाक्रमले शुभ संकेत नगरेको भन्दै उनले राजनीतिक दलका नेताले निजी क्षेत्रको अपेक्षामाथि ठूलो चोट पु-याएको बताए ।

यसैगरी, उनले जनमत नै धरापमा पर्नेगरी भइरहेका राजनीतिक खिचातानीले देशभित्र उद्यम र लगानीको वातावरण थप बिग्रिने बताए । संसारभरको अभ्यास हेर्ने हो भने जुन मुलुकमा स्थिरता छ, सोही मुलुकमा लगानी जान्छ । त्यही मुलुकले आर्थिक विकासमा फड्को मारेका छन् भन्दै उद्योग परिसंघका अध्यक्ष मोरले भने, ‘हामीले लामो समयदेखि अस्थिरता भोग्दै आएका थियौं । पछिल्लो निर्वाचनपछि एक प्रकारको आशा र भरोसा पलाएको थियो । तर, आइतबार अकस्मात् भएको संसद् विघटन शुभ संकेत होइन ।’

उद्योगी व्यवसायी राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरता चाहन्छन् । जसका लागि राजनीतिक नेतृत्वको भूमिका निकै महŒवपूर्ण हुन्छ भन्दै उनले जनताले पाँच वर्षसम्म स्थिर रूपमा सरकार चलाउन दिएको जनमत नै धरापमा पर्नेगरी भएका यस्तो हर्कतले आमउद्योगी÷व्यवसायीलाई ठूलो चोटसहित निराश बनाएको बताए ।

यसैगरी, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले कोरोना महामारीले थला परेको मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्ने बेलामा विवेक गुमाएका राजनीतिक दलबाट भएको यस्तो घटनाले उद्योगी/व्यवसायी थप निराश बनेको बताए । उनले यस्ता गतिविधि एवं घटनाक्रमले मुलुकमा लगानीको वातावरण पनि बिग्रिने बताए । आइतबार अकस्मात् भएको संसद् विघटनलगायतका विकसित घटनाक्रम देशका लागि निकै दुर्भाग्यूर्ण भएको बताए ।

कारोना महामारीको चपेटामा परेका व्यवसायीसामु संसद् विघटनको खेल देशका लागि अर्को नयाँ महामारी देखिएको धारणा राख्दै चेम्बर उपाध्यक्ष मल्लले भने, ‘निजी क्षेत्रले अपेक्षा गरेको नेकपाभित्रको आपसी झगडाले मुलुकलाई थप अप्ठ्यारोमा पार्नु निकै दुःखद् काम भयो ।’ विवेक गुमाएका राजनीतिक दलबाट अर्थतन्त्रलाई गति दिनेबेलामा यस्तो घटना हुनाले आफूहरूलाई निराश बनाएको उनको भनाइ छ । उद्योगी पवन गोल्यानले पनि कोरोना महामारीबीच मुलुक संकटमा परेको अवस्थामा भएको संसद् विघटन कुनै पनि हिसाबले राम्रो नभएको बताए ।

उद्योग परिसंघका अध्यक्ष मोर, चेम्बरका उपाध्यक्ष मल्ल र अर्का व्यवसायी गोल्यानले मात्र नभएर अहिले आमव्यवसायीले पछिल्लो समय देखिएको नेकपाभित्रको आन्तरिक कलहको उपद्रोले संसद् विघटन भएसँगै अब मुलुकको आर्थिक विकासमा बिराम लागेको र थप आर्थिक संकटमा मुलुक पुगेको बताएका छन् । यो निजी क्षेत्रकालागि निकै दुर्भाग्य अवस्था आइलागेको उनीहरूको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आइतबार गरेको संसद् विघटनको सिफारिसलाई राष्ट्रपति भण्डारीले स्वीकृत गर्दै आगामी १७ र २७ वैशाखमा आमनिर्वाचनको मिति घोषणा गरेपछि मुलुकको अर्थव्यवस्थालाई समेत संकट आइपर्ने बुुझाइ उनीहरूको छ ।

यो सरकारबाट निजी क्षेत्रले धेरै अघिदेखि भन्दै आएको स्थिर सरकारको परिकल्पना सार्थक हुने अपेक्षा राखेको भएपनि अहिले आएर अकस्मात् संसद् विघटन भई मध्यावधि निर्वाचनको समय तोकिनुले अब देशको आर्थिक गतिविधि थप निराशातर्फ धकेल्ने अवस्था सिर्जना भएको उनीहरूको दुःखेसो छ ।

यसैगरी, अर्थविद् डा. शंकर शर्माले अकस्मात् भएको संसद् विघटनले देशको अर्थतन्त्रका सबै अवसर गुमेको बताए । यस्तो घटनाक्रमले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने भन्दै उनले अब लगानीकर्ताले विस्तारै हात झिक्ने परिस्थिति उत्पन्न भएको बताए । संसद् विघटनले लगानीको वातावरण फेरि अनिश्चततातर्फ धकेलिएको दावी गर्दै अर्थविद् शर्माले भने, ‘यसअघि कमसेकम मुलुकमा बन्द हड्ताल भएको थिएन ।

यो स्थायी सरकारको राम्रो पक्ष हो ।’ अब पुनः बन्द हड्तालका गतिविधि बढ्नुकासाथै भ्रष्टाचार थप बढ्ने उनको अनुमान छ । अब कुन पार्टीको सरकार आउँछ र उसले लिने नीति कस्तो हुन्छ भनेर लगानीकर्ता पर्ख र हेरको अवस्थामा हुन्छन् भन्दै उनले आगामी दिनमा लगानीको ढोका बन्द हुने समाचार मधुजंग पाण्डेले आजको राजधानीमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij