खोपको ६० लाख मात्रा वितरण गर्न तयार रहेको बताइएको छ
ई–आर्थिक, काठमाडौं । अमेरिकी सरकारले कोभिड–१९ खोप मोडेर्नालाई दोस्रो खोपको रूपमा अनुमति दिएको छ । यसले खोपको दशौँ लाख मात्रा वितरण गर्न बाटो खुला भएको बताइएको छ ।
अमेरिकी खाद्य तथा औषधि नियामक संस्था (एफडीए) ले गत हप्ता अनुमति दिएको फाइजर बायोएनटेकपछि मोडेर्ना वितरणमा आएको छ ।
अमेरिकी सरकारले २० करोड मोडेर्ना खोप किन्न सहमति दिएको छ, जसमध्ये ६० लाख अब वितरणका लागि विभिन्न स्थानमा पठाउन तयार हुने बताइएको छ । कोभिड–१९ सम्बन्धी मृत्यु र सङ्क्रमण संसारमै सबभन्दा धेरै अमेरिकामा छ ।
महत्त्वपूर्ण प्रगति
जोन्स् हप्किन्स् विश्वविद्यालयका अनुसार अमेरिकामा ३१ लाख भन्दा बढि मानिसहरूको कोभिड–१९ का कारण मृत्यु भएको छ भने एक करोड ७२ लाख भन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन् ।
‘ज्यानुअरी महिनामा भाइरसको सङ्क्रमणको समस्या शुरू हुनु र डिसेम्बरमा दुईवटा खोप तयार हुनु महत्त्वपूर्ण प्रगति हो,’ टेनेसीस्थित महारी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. जेम्स हिल्डर्थले भने ।
एफडीए सल्लाहकार समितिले बिहीवार एकजना तटस्थ सहित २०–० मतका साथ खोपलाई अनुमोदन गरेको थियो ।
१८ वर्ष र त्यो भन्दा माथिको उमेर समूहका लागि मोडेर्ना खोपले पार्न सक्ने जोखिमका तुलनामा फाइदा बढी रहेको भन्दै मतदान भएपछि अनुमति दिइएको हो । नियामकहरूले यो साताको शुरूमा मोडेर्ना खोप ९४ प्रतिशत प्रभावकारी रहेको रिपोर्ट दिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अनुमति दिइएको भन्ने औपचारिक घोषणा हुनु घण्टौँ अघि ट्वीट गरे, जसमा उनले खोप ‘अत्यधिक मतले अनुमोदित’ भएको र ‘वितरण तत्काल शुरू हुने’ भन्दै खुशी व्यक्त गरेका थिए ।
अमेरिकी खोप कार्यक्रमले एप्रिलसम्ममा ५ करोड मानिसलाई खोप लगाइसक्ने बताएको छ ।
पहिले खोप पाउने को–को ?
न्यूयोर्ककी नर्स स्यान्ड्रा लिन्ड्से सोमवार फाइजर खोप दिन शुरू भए यता खोप लिने पहिलो व्यक्ति बनेकी छन् ।
उनले भनेकी थिइन्, ‘यो खोप हाम्रो इतिहासको निकै पीडादायक समयको अन्त्यको शुरूवात होस् भन्ने आशा गर्छु । खोप सुरक्षित छ भन्ने कुरा मानिसमा विश्वास होस् भन्ने चाहन्छु । महामारीका बेला हामी सबैले आ–आफ्नो जिम्मेबारी निर्वाह गर्नुपर्छ ।’ बीबीसीबाट