२०८३ साउन ९ शनिबार

‘कर्पोरेट–पे’ प्रणालीका लागि एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

ई आर्थिक    मंगलबार, मंसिर ३० २०७७
5.8K
Shares
‘कर्पोरेट–पे’ प्रणालीका लागि एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

ई–आर्थिक, काठमाडौं । डिजिटल बैंकिङ्ग क्षेत्रमा देशको अग्रणी बैंकको रुपमा स्थापित भई गतिशील बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहक महानुभावहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ ।

यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको थियो ।

बैंकले आफ्ना सम्पूर्ण संस्थागत ग्राहक महानुभावहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहक महानुभावहरूले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस वा एनसीएचएल–आईपीएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको छ ।

यस ‘कर्पोरेट–पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहक महानुभावहरूले बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सक्नुहुनेछ । यस प्रणाली सुरुवात गरेपश्चात् प्रयोगकर्ताहरू आफैले तोकिएको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्नुहुने बैंकले जानकारी दिएको छ ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टिलेयर अथेन्टिकेशनको व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र पाउने सुरक्षित बाटोको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

साथै ग्राहक महानुभावहरूले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरू समेत आबद्ध गरी कारोबार गर्न सकिने सुविधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखामा नपुगी विभिन्न भुक्तानीहरू अनलाईनबाट नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ सहज हुने विश्वास बैंकले लिएको छ ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनारहेको यस बैंकले समयअनुरुप विभिन्न डिजिटल बैंकिङ्गका योजनाहरूका साथ आम जनमानस माझ आफ्नो बलियो उपस्थिति जनाइसकेको छ । सोही रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस ‘कर्पोरेट–पे’ प्रणालीमार्फत संस्थागत ग्राहक महानुभावहरूले सहज एवं सरल रुपमा सुविधा उपभोग गर्न सक्नुहुने जनाएको छ । स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई योगदान पु¥याई मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनोमी बनाउन यस प्रणाली मेरुदण्ड बन्ने बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७० एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको पनि बैंकले जानकारी दिएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij