ई–आर्थिक, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको बढेको छ । सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेर अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको छ । नेपाल र चीनले नापेको सगरमाथाको उक्त नयाँ उचाइ नापी विभागले आज मंगलबार सार्वजनिक गरेको हो ।
विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त नयाँ उचाइको घोषणा गरेका थिए ।
सगरमाथाको उक्त उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेपनि दुई देशले नापेको उचाइ पहिलाका भन्दा ८६ सेन्टिमिटर बढेको हो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक विभागले प्रशोधन गरेको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभाग पत्रकार सम्मेलनमा जानकारी दियो ।
१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको सो अवसरमा जानकारी दिइयो ।
यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको थियो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको थियो ।