२०८३ साउन ११ सोमबार

प्रशोधित भनिएको अधिकांश जारको पिउने पानी गुणस्तरहिन

ई आर्थिक    मंगलबार, मंसिर १६ २०७७
7.8K
Shares
प्रशोधित भनिएको अधिकांश जारको पिउने पानी गुणस्तरहिन

ई–आर्थिक, काठमाडौं । प्रशोधित भनिएको पिउने जारमा भरिएको अधिकांश कम्पनीकोे पानी उचित गुणस्तरको नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पानी, दाना, तेल, घिउ गरी एक हजार १८९ नमुना परीक्षण गर्दा ७० वटा नमुनामा आवश्यक मापदण्ड नपुगेको पाइएको हो । तीमध्ये २१ वटा त विभिन्न उद्योगबाट उत्पादन हुँदै आएका पिउने पानीका नमुना रहेका हुन् ।

विभागले गत साउनदेखि कात्तिकसम्मको अवधिमा ती नमुना परीक्षण गरेको हो । त्यस्तै तेल तथा घिउका १४ उद्योगका नमुना र खाद्यान्नका १० वटा नमुना परीक्षण गर्दा गुणस्तरमा समस्या पाइएको विभागले जानकारी दिएको छ ।

सो अवधिमा न्यून स्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा २६ थान मुद्दा विभिन्न जिल्ला प्रशासन तथा जिल्ला अदालतमा दायर गरेको विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । उहाँका अनुसार दायर गरिएका २६ वटा मुद्दामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका छन् ।

यस्तै विभागले यस अवधिमा १५६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरेको छ भने ६३० उद्योग अनुज्ञापत्र नवीकरण तथा ६४२ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको जनाएको छ । सो अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट २५ हजार १५४ वटा नमुना प्राप्त भई जाँच विश्लेषण नियमन गरिएको थियो । तीमध्ये पापड, चामल, बदाम, मसला, मैदा, बेसनलगायतका २५ वटा नमुना प्रतिकूल पाइएकाले सोको आयात रोकिएको निर्देशक महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij