ई–आर्थिक, पोखरा । पूर्वबैंकर तथा प्रतिष्ठित व्यवसायी सूर्यबहादुर केसीको गएराति ६३ वर्षको उमेरमा निधन भएको छ । प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका उनको आफ्नै निवास पोखरा महानगरपालिका वडा ७, एयरपोर्टमा राति साढे १० बजे निधन भएको हो ।
२०१४ जेठ १४ मा जन्मिएका केसीमा पछिल्लो मधुमेह, उच्च रक्तचाप समस्या थियो । पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी केसी सनातन हिन्दू धर्मका पक्षपाति थिए ।
प्रतिनिधिसभा सदस्य चुनावताका राप्रपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका उनी समानुपातिक कोटाबाट सांसद बनेका हुन् । उनी पहिलो संविधानसभा सदस्य चुनावमा राप्रपाबाट सांसद बनेका थिए । उनी सानै उमेरमा पोखराको नगरपञ्चायतको प्रधानपञ्च समेत भएका थिए ।
पोखराका सफल उद्योगीका रुपमा परिचित केसीले नेपालमै पहिलो पटक चाउचाउ अबधारणा भित्राएका थिए ।
माछापुच्छे बैंकको संस्थापक अध्यक्ष केसीको उद्योग, हाइड्रो, शिक्षा, व्यापार लगायतमा पनि लगानी छ । स्व. केसीको श्रीमती, ३ छोराबुहारी, ६ जना नातिनातिना छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।