ई–आर्थिक, बुटवल : पम्पमा पेट्रोल खन्याउने क्रममा रुपन्देहीको एक पेट्रोलपम्पमा आगलागी भएको छ । ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा सोमबार साँझ करिब साढे ७ बजेतिर रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा आगलागी भएको हो ।
लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा सो आगलागी भएको थियो । आगलागीबाट ट्यांकर र त्यसमा रहेको पेट्रोल जलेर नष्ट भएको छ । समयमै सुरक्षाकर्मी र अग्नी नियन्त्रक पुग्न सफल भएकोले थप क्षति हुन भने पाएन् ।
आगलागी भएलगत्तै सुरक्षाकर्मी आगो नियन्त्रणका लागि खटेका थिए । आगोलाई बुटवल उपमहानगर, सिद्धार्थ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिन सफल भएको थियो ।