२०८३ साउन ९ शनिबार

टिकट बुकिङ शून्य

ई आर्थिक    बुधबार, असोज २१ २०७७
5.2K
Shares
टिकट बुकिङ शून्य

सुनिता कार्की, काठमाडौं : आन्तरिक उडानतर्फ दसैंका लागि यात्रुको चहलपहल अझै सुरु हुन सकेको छैन। कोरोनाले गर्दा यात्रु तयार भइनसकेको विमान कम्पनीले जानकारी दिएका छन्। कोरोनाअघि एक महिना अघिबाट अग्रिम बुकिङ हुने गरेको भए पनि अहिले खाली सोधपुछका लागि मात्र फोन आउने गरेको उनीहरूको भनाइ छ। कोरोना संक्रमण बढिरहेकाले पनि दसैं अघिसम्मको अवस्था कस्तो हुने हो भन्ने अन्योलले अग्रिम बुकिङमा चाप नदेखिएको बताइएको छ।

कोरोना महामारीका कारण करिब ६ महिनापछि गत असोज ५ गतेबाट नियमित आन्तरिक उडान सेवा सुरु भएको हो। उडान पुनः सञ्चालन भएको करिब १५ दिनमा आन्तरिक विमान कम्पनीको यात्रु क्षमता अनुसार करिब ८५ प्रतिशत अकुपेन्सी रहेको विमान कम्पनीले बताएका छन्। स्टल रुट (पहाडी र हिमाली भेगको उडान) भन्दा ट्रंक रुट (तराई भेगको उडान) मा अकुपेन्सी बढिरहेको बताइन्छ। स्टल रुटमा यात्रुभन्दा पनि सामान ढुवानी (कार्गो) उडान बढी हुने गरेको छ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल बुद्ध, यति, सिम्रिक, श्री, सिता, तारा, समिट र नेपाल एयरलाइन्सका गरी दैनिक करिब ८० उडानका लागि अनुमति दिएको छ। त्यसमा बुद्ध र यती एयरलाइन्सले ट्रंक रुटमा उडान भर्दै आएका छन् भने सिता, तारा, समिट र नेपाल एयरलाइन्सले स्टल रुटमा उडान भरिरहेका छन्। सिम्रिक एयरलाइन्सले भने अक्टुबर १५ तारिखबाट मात्र पोखराका लागि दैनिक २ वटा उडान सुरु गर्ने जानकारी दिएको छ।

प्राधिकरणको उडान तालिकाअनुसार सबैभन्दा बढी करिब ३० वटा उडान अनुमति पाएको बुद्ध एयरको हाल उडान अकुपेन्सी करिब ८५ प्रतिशत रहेको प्रवक्ता तथा बजार प्रबन्धक रुपेश जोशीले जानकारी दिए।

अहिले पनि उडानको एकदिन अघिमात्रै बुकिङ हुने गरेको बताउँदै जोशीले दसैंका लागि अहिले केही भन्न नसकिने बताउँछन्। दसैंका लागि भनेर बुद्ध एयरले कुनै योजना ल्याएको छैन। ‘घटस्थापनाबाट केही चहलपहल हुन सक्छ। यात्रुको चाप घट्यो भने हवाई भाडा घट्न सक्छ तर चाप बढ्यो भने अहिलेको नै भाडा कायम हुन्छ। दशैं लक्षित कुनै योजना छैन’, प्रवक्ता जोशी।

यती एयरलाइन्सको अकुपेन्सी करिब ९० प्रतिशत रहेको उडान सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले बताए। दैनिक करिब १८ उडान ट्रंक रुटमा भर्दै आएको यती एयरलाइन्सको पनि दसैंका लागि अग्रिम बुकिङ सुरु नभएको जानकारी दिएको छ। ‘विमान कम्पनीले दसैंका लागि सस्तो भाडादर खोलिसकेका छैनन्। पर्ख र हेरको स्थिति छ। दसैंमा यात्रुको चाप कस्तो हुन्छ भन्न सकिने अवस्था छैन’, बर्तौला भन्छन्। सिट पाइहाल्छ भन्ने मानसिकताले पनि अग्रिम बुकिङ नभएको होला भन्ने उनको सोचाइ छ। अहिले पनि सस्तो भाडादरमा नै उडान भइरहेको बताउँदै बर्तौलाले सञ्चालन खर्च उठ्न पनि गाह्रो भएको बताउँछन्। अझ यो भन्दा सस्तो भाडा कायम हुन सक्ने अवस्था नरहेको उनको भनाइ छ। अग्रिम बुकिङ नभएको भए पनि दसैंको समयमा अहिलेको उडान भरिने भन्ने आशा यती एयरलाइन्सको छ। यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले भने स्टल रुटमा उडान भर्ने गर्छ।

स्टल रुटको हकमा भने लामो समयदेखि लकडाउन नै भइरहेको कारण गर्दा चार्टर्ड उडानबाट नै काठमाडौं रहेका यात्रु फर्किसकेकाले पनि खासै चाप नरहेको बताइएको छ। नेपाली ध्वाजाबाहक नेपाल एयरलाइन्सले स्टल रुटमा दैनिक करिब ८ उडान गर्दै आएकोमा हाल अकुपेन्सी ८० प्रतिशत रहेको प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

सधैं एकनास अकुपेन्सी हुने नगरेको उनी बताउँछिन्। दुर्गम उडानमा दसैंका लागि घटस्थापनाको एक हप्ताअघि मात्रै बुकिङ खुल्ने भएकाले अहिले खासै चहलपहल नभएको खड्काको भनाइ रछ। ‘स्टल रुट चल्ने विमान थोरै सिटका मात्रै हुन्छन्। बुकिङ खुल्नेबित्तिकै बिक्री हुने अवस्था हुन्छन्। त्यही भएर अहिले केही भन्न सकिँदैन’, प्रवक्ता खड्काले भनिन्। स्टल रुटमा नै उडान भर्दै आएको समिट एयरले दैनिक मुश्किलले एक फ्लाइट यात्रुको हुने गरेको र अरु कार्गो उडान हुने गरेको महाप्रबन्धक मनोज कार्कीले जानकारी दिए। अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij