ई–आर्थिक, काठमाडौं । काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था कम्पनीमा प्याज किन्न उपभोक्ताको ठेलामठेल लाइन लागेको छ । बजार मूल्य भन्दा निक्कै आधा भन्दा सस्तो मूल्यमा प्याज बेचिरहेकाले पनि कम्पनी परिसरमा प्याज किन्नेको भीड लागेको हो ।
कोरोनाको समेत प्रवाह नगरी निक्कै महत्वको बस्तु प्राप्ती गर्न लाइनमा बसेजस्तो देखिने उक्त लाइनलाई सर्वसाधारणले ‘प्याज जात्रा’को संज्ञा दिएका छन् ।
६० रुपैयाँ प्रतिकिलो विक्री गरिरहेको उक्त प्याज बजार अनुगमनको क्रममा जफत गरिएको हो । अघिल्लो साता बजार अनुगमनको क्रममा बल्खु तथा कालीमाटी बजारमा लुकाएर राखिएको झण्डै १२ हजार किलो प्याज सरकारले जफत गरेको थियो ।
बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि रहेको छ । खाद्यले ६० रुपैयाँमै विक्री गर्न थालेपछि प्याज खरिदमा व्यापारी तथा सर्वसाधारणको आकर्षण बढेको हो । सस्तोमा प्याज विक्री भइरहेको थाहा भएपछि टाढा–टाढा देखि समेत मानिस आएका छन् । कम्पनीले एक जनालाई बढीमा ३ किलोसम्म प्याज बिक्री गरिरहेको जानकारी दिएको छ ।
तीन किलो प्याज सरकारी कम्पनीबाट खरिद गर्दा बजार मूल्यको तुलना गर्दा २४० रुपैयाँ बचत गर्छन् ।