ई–आर्थिक, काठमाडौं । मुलुकभर आज विहिवार एक हजार ४९७ जना कोरोनाका संक्रमित थपिएका छन् । वितेको २४ घण्टामा थपिएको यो संख्यासँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म ५० हजार ४११ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ४५७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।
वितेको २४ घण्टामा १७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । गत २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ६ हजार ५६५ जना क्वारेन्टिनमा रहेको पनि पत्रकार सम्मलेनमा डा. गौतमले जानकारी दिए ।
यसैबीच काठमाडौं उपत्यकामा ७५५ संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।