ई–आर्थिक, काठमाडौं । सार्वजनिक यातायात तथा आन्तरिक हवाई सेवा असोज ५ गतेबाट सञ्चालनमा आउने भएका छन् । सरकाले सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित खुला गर्ने निर्णयसँगै सो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ यी सेवा खुला गर्ने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको थियो । सीसीएमसीले उक्त प्रस्तावका आधारमा निर्णयका लागि मन्त्रिपरिषद् बैठ्कमा पेस गरेको थियो ।
यातायात व्यवसायीले भने सरकारको निर्णय अवज्ञा गरेरै भएपनि असोज १ गतेदेखि नै यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर मन्त्रालयले असोज १ गतेबाटै सञ्चालन गर्दा व्यवस्थापनको चाँजोबाँजोमा कठिनाइ हुन सक्ने भएकाले असोज ५ गतेबाट यातायात सञ्चालन गर्ने गरी प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ ।
यातायात व्यवस्था विभागले पनि सुरक्षाका उपाय अपनाएर लामो दूरीका यातायात सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझाव दिएको थियो । सरकारले तोके अनुसारको सुरक्षाका मापदण्ड अपनाएर यातायात सञ्चालन गर्न सकिने विभागले जानकारी दिएको छ ।
यातायात व्यवसायीले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुला गर्न माग गर्दै आएका थिए । यातायात व्यवसायीले यातायात खोल्नुको विकल्प नरहेको बताउँदै आएका थिए । सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर यातायात सञ्चालन गर्न व्यवसायी तयारी अवस्थामा बताएका छन् ।
सरकारले कोरोना परीक्षणको शुल्क घटाएर दुई हजार रुपियाँ बनाएपछि सार्वजनिक यातायात सञ्चालनमा अझ सहज भएको व्यवसायीको भनाई छ । यात्रा गर्नुअघि यात्रुले दुई हजार रुपियाँमा कोरोना परीक्षण गरेर पीसीआरको रिपोर्ट हेरेर गाडीमा चढाउने व्यवस्था गर्दा पनि हुने व्यवसायी बताउँछन् । त्यसरी बस सञ्चालनमा ल्याउँदा सिट खाली राख्न पनि नपर्ने र भाडा पनि सस्तो पर्ने व्यवसायीको भनाई छ ।
गत चैत ११ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन बन्द थियो । यसैबीच मन्त्रिपरिषद्ले बैठकले रिक्त राष्ट्रिय सभा सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।