२०८३ साउन ९ शनिबार

पिसीआर परीक्षण शुल्क घट्यो, अब दुई हजार मात्र

ई आर्थिक    आइतबार, भाद्र २८ २०७७
11.4K
Shares
पिसीआर परीक्षण शुल्क घट्यो, अब दुई हजार मात्र

काठमाडौँ, भदौ २८ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पिसीआर परीक्षण शुल्क रु दुई हजार तोकेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पिसीआर परीक्षणको अधिकतम शुल्क रु दुई हजार तोकिएको जानकारी दिनुभयो ।

सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पिसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको बताउनुभयो । बजारमा रिएजेन्ट र पिसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उहाँले जानकारी दिनुभयो ।

यसअघि मन्त्रालयले पिसीआर परीक्षणका लागि रु चार हजार ४०० तोकेको थियो । त्यस भन्दाअघि पिसीआर परीक्षणका लागि मन्त्रालयले रु पाँच हजार ५०० शुल्क तोकेको थियो । नेपालमा अहिलेसम्म आठ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार १५९ जना सङ्क्रमित भएका छन् । दैनिक करिब १० हजारको सङ्ख्यामा पिसीआर परीक्षण भइरहेको छ ।

सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ । अहिले ४७ सरकारी प्रयोगशालामा पिसीआर परीक्षण हुँदै आइरहेको छ ।

यसैगरी मन्त्रालयले बंगलादेशबाट आएको रेम्डेसिभिर खोप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिकाअनुसार प्रयोग गर्न सूचिकृत भएका अस्पतालमा बिरामीको चाप हेरेर वितरण गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । उक्त खोपको सम्पूर्ण वितरण परिषद्ले प्राप्त गरी मन्त्रालयमा पेश गर्नसमेत भनिएको छ । सरकारले बंगलादेशबाट पाँच हजार सो खोप प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij