ई–आर्थिक, काठमाडौं । मंगलबार रातीसम्म अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभामा लैजाने अडानमा रहेका सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री बुधबार बिहान प्रचण्डको फोनले लल्याकलुलुक भए । यसपटक पनि आफ्नै अडानमा रहेर ‘ओलीका अगाडि कसैको केही लाग्दैन’ भन्ने राजनीतिक सन्देश दिन खोजिरहेका प्रधानमन्त्री ओली बुधबार बिहानको चिया समय आइपुग्दा नपुग्दै ‘युटर्न’ भए ।
उनी आफ्नो ‘चट्टानी अडान’ बाट त्यसी एकाएक ‘युटर्न’ हुनुमा बिहानै प्रचण्डको फोन थियो । बुधबार बस्ने सचिबालयको बैठकमा प्रस्तुत गरिने एजेण्डामा बामदेबलाई राष्ट्रियसभा पठाउने एजेण्डामा ओलीले आनाकानी गरेको महासचिब बिष्णु पौडेलमार्फत प्रचण्डले थाहा पाएका थिए । मंगलबारको भेटमा गएको फागुन १४ मा भएको सचिबालयको बैठकको निर्णय कार्यान्वयन गर्नुको बिकल्प नरहेको भनेर ओलीलाई प्रचण्डले सम्झाएका थिए । त्यही बेलुकी बामदेबले पनि ओलीसँग भेटी उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गरेका थिए ।
बुधबारको भेटमा प्रचण्ड र बामदेब दुबैलाई खुलस्त जबाफ नदिएका ओलीको मनमा अर्थमन्त्री खतिवडाले नै घर गरिरहेका थिए । ओलीसँगको भेटमा भएका कुराको बारेमा गौतमले प्रचण्ड, बरिष्ठ नेता माधब नेपाल र झलनाथलाई मंगलबार राती नै जानकारी गराई सकेका थिए । बामदेबको जानकारीपछि बरिष्ठ नेताहरु र प्रचण्डको कुरा भएको थियो । समूहको नेता तपाई भएकाले यसबारेमा ओलीसँग बिहानै प्रष्टाप्रष्टी कुरा गर्नू भनेर बरिष्ठ नेताहरुले प्रचण्डलाई जिम्मा दिए अनुसार बुधबार बिहानै प्रचण्डको फोन ओलीलाई आएको थियो । उक्त फोनमा पनि ओली प्रष्टसंग खुल्न नसकेपछि प्रचण्डले प्वाक्क भनिदिए ‘मैले पार्टीभित्र एकता होस भनेर धेरै त्याग गरेको छु । तपाईको गहिरो संकट टारिदिए । मलाई माधब कमरेडहरुले ओलीसँग मिल्नुभयो भनेर कचकच गरिरहनु भएको छ । दुई अध्यक्ष मिलौ भनेर तपाईको पनि पटक–पटक आग्रहलाई मैले सम्मान गरेको हुँ । तर तपाई आफ्नो बिगतकै जस्तो आफ्नै अडानमा रहने हो भने म पनि सोच्छु । बामदेबजीलाई आजैको बैठकबाट अघिल्लो बैठकको निर्णयअनुसार राष्ट्रियसभामा लैजाने एजेण्डाका लागि बिष्णुजीलाई भन्नुहोस । यसमा तपाई सिरियस हुनुहोस । होइन भने आँधीबेहेरी आउनेवाला छ । तपाईले त्यसलाई थेग्न सक्नुहुन्न ।’
प्रचण्डको यस्तो धम्कीपूर्ण भाषाको फोनले ओलीमा निकै बेचैनी ल्याईदियो । उनले तत्कालै महासचिब बिष्णु पौडेललाई प्रचण्डसँगको कुराकानीका बारेमा सेयर गरे । महासचिब पौडेल पनि बामदेबलाई जसरी भए पनि राष्ट्रियसभामा लैजानुपर्छ भन्ने मान्यता राख्ने नेता हुन ।
उनले बामदेबलाई आजै निर्णय नगर्ने हो भने निकै ठूलो संकट आउन सक्नेबारे ओलीलाई सचेत गराए । फेरि प्रचण्ड, माधब, बामदेब, झलनाथ र नारायणकाजीबिच बलियो एकता हुन गई तपाई सचिबालयमा अल्पमतमा पर्ने र यसले निकै ठूलो नोक्सानी गर्ने कुरा बिष्णुले ओलीलाई सबिस्तार सुनाए । प्रचण्ड, माधब र झलनाथजीको आजको एकल मुद्धा बामदेबलाई लैजाने भन्ने छ । यसमा तपाईले तुरुन्तै स्टेप चाल्नपर्छ भनेर पौडेलले ओलीमा त्रास भरिदिए ।
बिष्णु पौडेलसँग भएको कुरा ओलीले आफ्नो कोर समूहमा फोनबाटै शेयरिङ गरे । शंकर पोखरेलले बामदेबलाई बनाउने तर त्यो प्रचण्ड र अरु बरिष्ठ नेताहरुको दबाबले होइन, आफ्नै रुचीले बनाएको सन्देश प्रबाह हुने गरी गर्नुपर्छ भन्ने सुझाब दिए । शंकरले ओलीलाई म युवराजसँग कुरा गरेर फोन गरौला भन्दै फोन राखिदिए । तत्कालै युवराज खतिवडासँग सम्पर्क गरी प्रचण्ड र बरिष्ठ नेताहरुले बामदेबको बिषयलाई लिएर ओलीलाई चेतावानी दिन थालेकाले प्रधानमन्त्री फेरि संकटमा पर्नु भएको भन्दै यसमा सहयोग गर्नुप¥यो भने । शंकरको आसय युवराज आफैले राष्ट्रिय सभामा जान्न भनिदिए यो संकट सजिलै टर्छ भन्ने थियो । शंकरको आसय युवराजले बुझिहाले । उनले म नै प्रधानमन्त्रीज्यूसँग भेटेर समस्या समाधानको उपाय बताइदिन्छु भनेर शंकरलाई खतिवडाले आश्वास्त पारे । युबराजले प्रधानमन्त्री ओलीलाई फोन गरेर बिकसित राजनीतिक परिस्थितिको बारेमा आफू जानकार रहेको र पार्टीमा भर्खरै देखिएको एकता फेरि आफ्नो कारणले भत्कन नदिने भन्दै आफू कुनै हालतमा राष्ट्रिय सभामा जाने मनसाय नभएको बताए । खतिवडाको फोनले भने ओली निकै गम्भीर भए । उनले ११ बजेको बैठक स्थगित गरेर ३ बजे सारे अनि चिसो दिमागले सोच्न थाले । यो बिचमा खतिवडाले त्याग गरे भनेर ओलीको कोर समूहमा खासखुस चल्न थालको थियो । खतिवडालाई अन्यत्र ब्यबस्था गरौला, अहिलेको संकट टारौ, तर आफूले जस लिने गरेर अघि बढौ भनेर शंकरले फेरि ओलीलाई सुझाए । शंकरको यही सुझाब अनुसार ओली अघि बढ्न तयार भए ।
बुधबारको दिउँसो बैठकको मूल आकर्षण नै बामदेबको सम्बन्धमा थियो । प्रचण्डलगायत बरिष्ठ नेताहरु बामदेबलाई राष्ट्रियसभामा लैजाने पुरानो निर्णय कार्यान्वयन गर्ने पक्षमा दृढ थिए । बैठक सुरु भयो । महासचिब पौडेलले छलफलका केही एजेण्डा प्रस्तुत गरे । तर त्यहाँ बामदेबका बारेमा कुनै एजेण्डा थिएन । सचिबालय सदस्यहरु मुखामुख गर्न के थालेका थिए । ओलीले बामदेबजीलाई राष्ट्रियसभामा लैजाने एजेण्डा थप्न भने । पौडेलसँग ओलीले बामदेबलाई म नै प्रस्ताब गर्छु भनेर भनेका रहेछन् । यसपछि बामदेबको एजेण्डा कुनै छलफल नै नभई पारित भइहाल्यो । यसो गरेर ओलीले अरुको दबाबमा नभई आफूलाई संकटमा सहयोग गरेको हुदा मैले नै राष्ट्रियसभामा लगेको हो भनेर बामदेबलाई जबर्जस्ती सन्देश दिन खोजे ।
उता पार्टीभित्र बिधि, पद्धतिको कुरा गर्ने नेताहरु झलनाथ खनाल, माधब नेपाल र नारायणकाजी श्रेष्ठ भने यो निर्णयबाट निकै खुसी देखिए । बिगतमा पार्टीले बामदेबलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन नगर्ने ओलीको अडानले नै पार्टीभित्र बिबाद सिर्जना भएको थियो । आफू अनुकुल नभए पार्टीको निर्णय मान्दिन भन्ने ओलीको दम्भ नै पार्टीभित्रको अन्तरबिरोधको मूल जड थियो । अहिले उक्त निर्णय कार्यान्वन हुनुले ओली पार्टीभित्र चेपुवामा परेको सन्देश गएको छ । पार्टी निर्णयबिरुद्ध जाँदा ओलीले जस्तो संकटको सामना गरे अब त्यसबाट निकै ठूलो पाठ सिकेको सबैले अनुभब गरेका छन् ।