ई–आर्थिक, बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति बाढीपहिरोले वितण्डा मच्चाएको छ । सो बाढीपहिरोमा परी अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ भने १३ जना अझै बेपत्ता छन् । सो स्थानमा राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० भन्दा बढी घर बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अहिलेसम्म बाढीमा परेर मृत्यु भएका सात जनाको शव फेला परिसकेका छैन् । मृतकमध्ये ६ जना पुरुष भएपनि उनीहरुको पहिचान खुल्न सकेको छैन । पहिचान खुलेकी एक महिला भने ढोरपाटन नगरपालिका–९ की २६ वर्षिया केशमाया पुन रहेको बताइएको छ ।
शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएको छ । शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको प्रहरीको भनाई छ । बाढी परी बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका ९ बस्ने ३५ वर्षीया कौशला पुन, उनको ६ वर्षीय छोरा हिक्मत पुन, ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, २८ वर्षीया कुमारी बि.क., १९ वर्षीया पुतली बि.क., ३२ वर्षीया करमती घर्ती मगर, ३५ वर्षीया रीना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उनको ६ वर्षीय छोरा रहेका छन् ।
यसैगरी ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन, गलकोट नगरपालिका– ४ घर भई ढोरपाटन घुम्न गएको २४ वर्षीय नविन भण्डारी बेपत्ता भएका छन् । भण्डारी सँगै घुम्न गएका अन्य ३ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । ढोरपाटनको वडा नम्बर ६, ७ र ८ मा नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य शुरु गरिसकिएको छ ।
बाढीले सडक छेउमा पार्किङमा राखेको जीप, २ वटा विद्युत गृह, स्वास्थ्य चौकी भवन, एक वटा झोलुङ्ले पुल, ढोरपाटन ९ को सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भवनसमेत बगाएको छ ।