२०८३ साउन १० आइतबार

उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन एनआरएनएको आग्रह

ई आर्थिक    मंगलबार, भाद्र ९ २०७७
11.1K
Shares
उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन एनआरएनएको आग्रह

ई–आर्थिक, काठमाडौं । गैरआवासीय नेपाली संघले उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन आग्रह गरेको छ । एनआरएनएले सो बारेको ज्ञापन पत्र माननीय उपप्रधान तथा रक्षा मन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेल समक्ष पेश गरेको छ ।

ज्ञापन पत्रको पाठ जस्ताको तस्तै

कोभिड–१९ महामारीका कारण विश्वभरका नेपाली प्रभावित छन् । संघले विदेशमा बसेका नेपालीहरुको अवस्था अद्यावधिक गर्ने देखि एक उच्चस्तरीय समिति गठन गरी हटलाइन सेवा, राहत वितरण, उद्धार उडानमा सहजीकरण, स्वास्थ्य सामग्री एवं खाद्यान्न वितरण लगायत सहायताका कार्यलाई जारी राखेको छ । संघले विश्वभर ५० देशमा २१ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी करिब ८० हजारभन्दा बढी नेपालीलाई राहत, स्वास्थ्य सामग्री तथा आर्थिक सहायता पुर्‍याइरहेको छ ।

यी सबै कार्य सकारात्मक रुपले अघि बढिरहेको भए पनि खाडी लगायत अन्य मुलुकमा अलपत्र परेका र काम नै गुमाएर दैनिक गुजारा गर्नसम्म हम्मे परेका नेपालीको संख्या ठूलो छ । विदेशी भूमिमा रोग र भोकको भयमा बस्नुपरेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारण विदेश मै रोकिएकाको उद्धार यथाशीघ्र गरिनु पर्नेमा संघले जोड दिंदै आएको छ ।

सरकारले विदेशबाट उल्लेख्य संख्याको उद्धार गरे पनि अझै हजारौं नेपाली उतै रोकिएकाले चिन्ता बढाएको छ । अन्तर्राष्ट्रिय उडान पुन : स्थगित गर्ने वा सीमित उद्धार गर्ने जस्ता अस्पष्ट निर्णयले विदेशमा अलपत्र नेपालीको समस्या सम्बोधनमा अझै अनिश्चतता थपेको छ । एकातिर चार्टर्ड उडानको अति नै महंगो भाडा तिर्नुपर्ने बाध्यता र अर्कोतिर फर्कन पाउने वा नपाउने भन्ने अन्योलले थप पिरोलेको छ ।
यसर्थ उच्च स्वास्थ्य सावधानीका मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन तथा बेखर्ची भएर अलपत्र परेकाहरुलाई बिनाशर्त वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् उद्धार गर्नसमेत संघ सरकारसंग माग गर्दछ ।

नेपालमा फर्किइसकेका नेपालीको व्यवस्थापन, रोजगारीको सुनिश्चितता जस्ता कयौं प्रश्न अझै अनुत्तरित छन् । देशको कूल गार्हस्थ्य उत्पादनको करिब एक तिहाई बराबरको योगदान विदेशमा रहेका नेपालीले गर्दै आएका छन् । लाखौको संख्यामा विदेशबाट फर्कने नेपालीको व्यवस्थापन माझ नेपालको अर्थतन्त्र तथा सामाजिक सन्तुलनमा असर पर्ने निश्चित छ । तसर्थ, यस विषम परिस्थितिमा सबै दलहरु एकजुट भई गम्भीर भएर यस दिशातर्फ स्पष्ट मार्गचित्रका साथ अगाडि बढून् भन्ने हाम्रो अपेक्षा छ ।

यसैगरी, कोभिड–१९ नियन्त्रण गर्न विश्वभर छरिएरका रहेका स्वास्थ्यविज्ञहरु नेपाल सरकारसंग सहकार्य गर्न आतुर छन् । त्यसैले विकसित देशहरुमा सिकेको सीप, ज्ञान र विज्ञता सदुपयोगका निम्ति तत्काल वातावरण मिलाइयोस् भन्ने संघको आग्रह छ ।

गैरआवासीय नेपालीहरु आफूले आर्जन गरेका ज्ञान र सीपलाई मुलुकको समृद्धिका लागि पनि प्रयोग गर्न अझै लालायित छन् । यसको सुरुवात विज्ञ सम्मेलनमार्फत भइसकेकोले पनि महामारीको यस कठिन घडीमा सरकारसंग थप सहकार्य गर्न संघ तयार छ ।

गैरआवासीय नेपाली नागरिकतासंग जोडिएको नागरिकता विधेयकमा पनि हाम्रो व्यग्र चासो छ, जुन संघीय संसदको अघिल्लै अधिवेशनबाट पारित हुने अपेक्षाका साथ प्रतीक्षा गरिरहेका थियौा । त्यो अपेक्षा पूरा हुन नसक्दा हामीलाई केही बेचैन बनाएको छ र अब सुरु हुने अधिवेशनमा प्राथमिकताका साथ छलफल चलाई टुंगो लगाइनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छौं।

भूकम्प, बाढीपहिरो होस् वा अन्य प्राकृतिक प्रकोप, नाकाबन्दी हुंदा होस् वा सीमा मिचिंदा, नेपालको मामिलालाई अन्तर्राष्ट्रिय समुदायको ढोका ढक्ढकाएर खबरदारी गर्दै संघले राष्ट्रिय हितको लागि ऐक्यबद्धता जनाउंदै आएको पनि सरकारलाई स्मरण गराउन चाहन्छौं । नेपाललाई दुख्दा हामीलाई पनि उत्तिकै दुख्छ र नेपालीको समृद्धिमा इंटा थप्न हामीले पनि हरसम्भव कोसिस गरिरहेका छौं । तसर्थ लाखौं गैरआवासीय नेपालीको भावना अनुसार राष्ट्रिय एकता, स्वाभिमान, स्वतन्त्रता तथा सार्वभौमिकता कायम गरी कोभिड–१९ को महामारीलाई अवसरको रुपमा प्रयोग गरी समृद्ध नेपाल निर्माणमा लाग्न सरकार एवं राजनीतिक नेतृत्वलाई हामी अनुरोध गर्दछौं ।

कुमार पन्त

अध्यक्ष

२०७७ भाद्र ०९ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij