ई–आर्थिक, काठमाडौं । दुबईबाट आएको एयर इन्डिया एक्सप्रेसको एक विमान केरलाको कोझिकोड विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । उक्त दर्घटनामा परी दुई पाइलट सहित १७ जनाको निधन भएको छ । सो दुर्घटनामा १२३ जना घाइते भएका छन् । घाइते मध्ये २० को अवस्था गम्भिर रहेको छ । विमानमा चालक दलका सदस्य सहित १९१ जना सवार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।
चालक दलका सात सदस्य रहेको उक्त विमानमा १० जना बालबालिका थिए । भारतको नागरिक उड्डयन मन्त्रालयका अनुसार दुर्घटना साँझ सात बजेर ४१ मिनेटको समयमा भएको थियो । विमान अवतरणको क्रममा रनवेमा आगो निस्किए पनि विमानमा आगो नलागेको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ । उक्त घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै दुःख व्यक्त गरेका छन् भने कांग्रेस नेता राहुल गान्धीले पनि ट्वीट गर्दै दुर्घटना दुःखद भएको बताएका छन् ।
घटनाको समय भिजिविलिटी कम भएको र ठूलो वर्षा भएको नागरिक उड्डयन निर्देशनालय (डीजीसीए) ले बताएको छ । दुर्घटनापछि विमान दुई टुक्रा भएको छ ।
उक्त विमानमा कोरोना महामारीका कारण दुबईमा फसेका भारतीय नागरिकलाई उद्धार गरी ल्याइएको थियो । दुर्घटनाको अन्य विस्तृत विवरण आउन बाँकी छ ।