ई–आर्थिक, काठमाडौं । विभिन्न शिलशिलामा विदेशमा अलपत्र परेका १४६६ नेपालीहरु काठमाडौं आइपुगेका छन् । विभिन्न मुलुकबाट आज विहीवार एकैदिन उक्त संख्यामा नेपालीहरु आइपुगेका हुन ।
बिहीबार एक दर्जन उडानबाट यो संख्यामा नेपाली घर फर्किएका त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विदेशबाट आएको १४६६ नेपालीहरु मध्ये हिमालय एयरलाइन्सले दमामबाट १५४ जना, नेपाल एयरलाइन्सले रियादबाट २५९ नेपालीलाई काठमाडौं ल्याएको छ ।
त्यसैगरी हिमालयले दोहाबाट १ सय ५७ जनालाई घर फर्काएको पनि सो कार्यालयले जानकारी दिएको छ । नेपाल एयरलाइन्सले दमामबाट १ सय ४४ जनालाई काठमाडौं ल्याएको छ ।
त्यस्तै मालिन्दो एयरले क्वालालाम्पुरबाट १७८ जनालाई काठमाडौं ल्याएको छ भने एयर अरेवियाले सारजहाबाट १६८ नेपालीलाई घर फर्काएको छ । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सले ७६ जना यात्रु ल्याएको थियो ।
एयर अरेबियाको दोस्रो उडानबाट बिहीबार नै १ सय ६६ जना यात्रु काठमाडौं आइपुगेका छन् । त्यस्तै नेपाल एयरलाइन्सका दुई जहाज दुबई र रियाद उड्नेछन् । यी जहाज शुक्रबार आउने कार्यक्रम रहेको छ ।