ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बिहीबार सात दिनका लागि रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ रकम तान्न लागेको हो।
उच्च तरलताका कारण अन्तरबैंक ब्याजदर ब्याजदर–करिडोरको तल्लो सीमाभन्दा तल झरेपछि राष्ट्र बैंकले अल्पकालिन उपकरणमार्फत् तरलता व्यवस्थापन गर्न लागेको हो । यसमा सबै वर्गका बैङ्क तथा वित्तीय संस्थाले सहभागिता जनाउन पाउने राष्ट्र बैंकले जनाएको छ ।
लकडाउ पछि बैंकहरुबाट कर्जा जान छाडेको छ। कर्जा प्रवाह नहुँदा बैंकिङ तरलता उच्च हुँदै गएको हो। बजारमा धेरै पैसा थुप्रिएपछि ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले गत जेठ २८ गते पनि २० अर्ब रुपैयाँ सात दिन अवधिका लागि राष्ट्र बैंकमा तानेको थियो। यसैगरी, साउन ८ र १५ गते पनि राष्ट्र बैंकले २०/२० अर्बकै रिभर्स रिपो जारी गरेको थियो । यो साउन ८ गते यता लगातार तेस्रो पटक जारी गरिएको रिभर्स रिपो हो। सबैगरी दुई महिना अवधिमा राष्ट्र बैंकले चार पटक रिभर्स रिपो जारी गर्दै छ।
अहिले बैंकिङ सिस्टममा २ खर्ब भन्दा बढीको तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप बढ्दै गएको तर त्यसअनुसार ऋणको माग नभएका कारण यतिबेला उच्च तरलताको अवस्था सिर्जना भएको हो । उच्च तरलताकै कारण अहिले ०.२५ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले यो सीमालाई १ प्रतिशत भन्दा तल झर्न नदिने लक्ष्य लिएको थियो ।
२० अर्बको तरलता खिच्दा पनि बजारमा अझै १ खर्ब ८० अर्बको तरलता बाँकी नै रहन्छ । बजारमा तरलतासँगै लगानीयोग्य पुँजी समेत अत्यधिक भएपछि अहिले बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् भने कर्जाको विस्तारका लागि नयाँ नयाँ प्रोडक्टहरु समेत सार्वजनिक गर्न थालेका छन् ।