काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म नेपालको बैंकिङ क्षेत्रको समग्र नाफामा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ११ महिनामा कुल ६४ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँको तुलनामा १९.६२ प्रतिशत बढी हो।
समीक्षा अवधिमा २० मध्ये १४ वाणिज्य बैंकले आफ्नो नाफा बढाउन सफल भएका छन् भने ६ बैंकको नाफा घटेको छ। यसले समग्र बैंकिङ क्षेत्रको वित्तीय अवस्था सुदृढ बन्दै गएको संकेत गरे पनि सबै बैंकको प्रदर्शन समान नरहेको देखिन्छ।
खुद नाफाको आधारमा नबिल बैंक लगातार सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ। बैंकले जेठ मसान्तसम्म ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.५२ प्रतिशत बढी हो।
दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यद्यपि बैंकको नाफा गत वर्षको तुलनामा ०.९६ प्रतिशतले घटेको छ।
यस वर्षको सबैभन्दा ठूलो आकर्षण भने कुमारी बैंकको प्रदर्शन बनेको छ। गत वर्षको जेठसम्म केवल ३७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ४ अर्ब ७० करोड ७० लाख रुपैयाँ खुद नाफा कमाउँदै १,१६८.४४ प्रतिशतको असाधारण वृद्धि हासिल गरेको छ। यही वृद्धिसँगै कुमारी बैंक खुद नाफाका आधारमा तेस्रो ठूलो वाणिज्य बैंक बनेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४९ करोड ११ लाख रुपैयाँ खुद नाफासहित चौथो स्थान कायम राखेको भए पनि यसको नाफा २१.०४ प्रतिशतले घटेको छ। एभरेस्ट बैंकले ४ अर्ब १२ करोड ३४ लाख रुपैयाँ नाफा कमाउँदै पाँचौँ स्थानमा रहे पनि यसको नाफा २.७७ प्रतिशतले घटेको छ।
अन्य प्रमुख बैंकमध्ये प्राइम कमर्सियल बैंकले ३ अर्ब ७४ करोड ९४ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ, एनएमबी बैंकले ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ तथा सानिमा बैंकले ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफा ६८.८२ प्रतिशत र सानिमा बैंकको ४४.८४ प्रतिशतले बढेको छ।
त्यसैगरी लक्ष्मी सनराइज बैंकले २ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ८० करोड १७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६२ करोड ४२ लाख रुपैयाँ तथा माछापुच्छ्रे बैंकले २ अर्ब १७ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। माछापुच्छ्रे बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४४.२५ प्रतिशतले बढेको छ।
यस्तै कृषि विकास बैंकले १ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेसनलले १ अर्ब ७४ करोड ६१ लाख रुपैयाँ तथा प्रभु बैंकले १ अर्ब ५० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
उता केही ठूला बैंकको नाफामा भने गिरावट देखिएको छ। सबैभन्दा बढी गिरावट एनआईसी एशिया बैंकको नाफामा देखिएको छ। बैंकको खुद नाफा ३८.८१ प्रतिशतले घटेर ८२ करोड ९७ लाख रुपैयाँबाट ५० करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ। प्रभु बैंकको नाफा ३४.९१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २१.०४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.७४ प्रतिशत, एभरेस्ट बैंकको २.७७ प्रतिशत तथा ग्लोबल आइएमई बैंकको ०.९६ प्रतिशतले घटेको छ।
यद्यपि हिमालयन बैंकले १ अर्ब १६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाउँदै अघिल्लो वर्षको तुलनामा २८.५९ प्रतिशत वृद्धि हासिल गरेको छ। तर नाफाको आकारका आधारमा हिमालयन बैंक दोस्रो पुछारमा रहेको छ भने एनआईसी एशिया बैंक सबैभन्दा कम नाफा कमाउने वाणिज्य बैंक बनेको छ।