ई–आर्थिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले उपत्यकामा केही कडाई गर्न थालेको छ ।
यसैक्रममा आज बिहिबार देखि निजी तथा सार्वजनिक सवारी साधनमा फेरि जोर विजोर प्रणाली लागू गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले पुनः जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।
सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो । तर कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए ।
यसैगरी, गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै जोर बिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि जनाएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने, कोभिड १९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड १९ को थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।