ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सात बुँदे ध्यानाकर्षण गराएका छन् । देउवाले प्रमुख प्रतिपक्षी दलको तर्फबाट आफ्नो सात बुँदे सुझाव राखेका हुन् ।
उनले कोरोना भाइरस नियन्त्रणका क्रममा हालसम्म भएका कमीकमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरेका छन्।
यस्ता छन् ७ बुँदे सुझाव :
१. हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गरियोस्। स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कारवाही गरियोस्।
२. नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न विषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउँदछु:
– आरडीटी परिक्षण स्थायी रुपले अन्त्य। – सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त।
– स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध। अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता। आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध।
– मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन।
– विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परिक्षण पश्चात् घर पुर्याउने ब्यवस्था।
– नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल।
– सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आम सञ्चार माध्यमको व्यापक प्रयोग।
३. परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरुसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस्।
४. विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस्।
५. उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस्।
६. विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस्।
७. वर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस्।