ई–आर्थिक, काठमाडौं । सुनको मूल्यले नयाँ-नयाँ रेकर्ड बनाउने क्रम जारी छ । पछिल्लो समय लगातार बढीरहेको सुनको मूल्यले शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको छ ।
बिहीबारसम्म ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्ड राखेको हो । त्यसैगरी तेजावी सुन ९५ हजार ३ सय ६५ रुपैयाँमा करोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भैरहेको थियो ।
किन बढिरहेको छ सुनको मूल्य ?
बहुमूल्य धातुका रुपमा रहेको सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा यो हप्ता मात्र ४.२ प्रतिशतले बढेर प्रतिअउन्स एक हजार ८८८ डलरमा पुगेको छ। जुन सेप्टेम्बर २०११ पछिको उच्च मूल्य हो। यससँगै हालसम्मकाे उच्च मूल्य (प्रति अउन्स एक हजार ९२० डलर) सँगकाे दूरी साँघुरिँदै गएकाे छ।
कोरोना महामारीको अनिश्चितता, अमेरिका र चीनका बीचको तनाव र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले लगानीकर्ताहरु सुरक्षित लागनीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्यमा अत्याधिक वृद्धि भइरहेको बताइएको छ। यसले सुनको माग बढ्यो र सुनको मूल्य पनि बढेको हो ।
यसैगरी, कोरोनाको कारणले अन्य लगानीको क्षेत्र नभएको र बजार अस्थिर र अनिश्चित भइरहेको कारण सुनको भाउ बढ्दै गएको हो। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा यसको प्रत्यक्ष असर नेपालको सुन बजारमा पनि देखिएको सुन व्यबसायीहरु बताउछन्।