२०८३ साउन ९ शनिबार

प्रधानमन्त्री ओलीका भित्रियाद्वारा ईपान कब्जाको तयारी

ई आर्थिक    बुधबार, साउन ७ २०७७
32.8K
Shares
प्रधानमन्त्री ओलीका भित्रियाद्वारा ईपान कब्जाको तयारी

इपानको नेतृत्वका लागि उम्मेद्वारी दिएका के.पी. निकट क्रमशः भरत खत्री, उत्तम ब्लोन र गोरे शेर्पा (इन्सेटमा) । तल ओलीको जन्मदिनमा हेलिकोप्टर चार्टर्ड गरेर तेह्रथुम जाने तयारीमा रोषन बस्नेत (बायाँबाट तेस्रो)

ई–आर्थिक, काठमाडौं । ठूलो आर्थिक कारोबार हुने हरेक क्षेत्रलाई आफ्नो प्रभुत्व स्थापित गर्न माहिर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको आँखा यतिबेला स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान) मा परेको छ । ईपान यतिबेला तीन बर्षे नेत्तृत्व चयनको मुखैमा रहेको समयमा प्रधानमन्त्री ओली जसरी भए पनि त्यसको नेत्तृत्वमा आफ्ना भित्रिया ल्याउने कसरतमा जुटेका हुन ।

यसका लागि उनले आफ्ना किचेन क्याबिनेटका रुपमा परिचित युवा राजनीतिज्ञ र ब्यबसायीहरुलाई परिचालन गरेका छन् ।

स्रोतका अनुसार ओलीले परिचालन गरेकाहरुमा यति समुहका ब्यापारीदेखि लिएर राष्ट्रिय युवा संघका नेत्तृत्वमा रहेका युवा नेताहरु छन् । उनीहरुलाई केही दिनअघि मात्र बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले यसपटक बिभिन्न कुटनीतिक चाल चलेर भए पनि ईपानको पदाधिकारीमा केही ब्यक्ति निर्बाचित हुने र अर्को पटक अध्यक्षको पाइपलाईनमा बस्न भनेर निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीद्वारा परिचालितहरुमा यति समुहका ब्यबसायी गोरे शेर्पा, भरत खत्री, रोशन बस्नेत र उत्तम ब्लोन लामा रहेका छन् । गोरे शेर्पा तिनै ब्यबसायी हुन जसले ओलीको जन्म दिनमा हेलिकोप्टर चार्टर्ड गरेर केक तेह्थुम पु¥याएका थिए । उनी ओलीका अत्यन्तै बिश्वासिला ब्यबसायी हुन । यति एयरलाइन्सले निर्माण गर्दै गरेको १२ सय मेगावाट जलबिद्युत आयोजना उनै गोरेको नेत्तृत्व गरिरहेका छन् । यति समुह ओलीको अत्यन्तै निकट ब्यबसायिक घराना हो ।

यतिका लागि प्रधानमन्त्री ओलीले पार्टी, सरकार र आफ्नो ब्यक्तिगत राजनीतिलाई समेत दाउमा राखेर सहयोग गरिरहेका छन् । यो समुहका प्रभाबशाली ब्यक्ति गोरे ओलीकै योजनामा ईपानको महासचिबको उम्मेद्वार बनेका छन् । गोरे समुहका उपाध्यक्षमा भरत खत्री छन् जो, युवा संघ नेपालको केन्द्रीय कमिटिको कानुन बिभागका प्रमुख रहेर काम गरिसकेका ब्यक्ति हुन । उनी यसअघिको नेकपा एमालेको महाधिबेशनमा धादिङबाट प्रतिनिधि थिए ।

ओली समुह कमजोर रहेको धादिङमा खत्रीले नै युवा बिद्यार्थीको नेत्तृत्व गरी ओलीको पक्षमा माहोल बनाएका थिए । उनको अहिले पनि बालुवाटारमा सहज पहुँच छ । यो समुका अर्का उपाध्यक्ष उत्तम ब्लोन लामा साँसद नबिना लामाका दाई हुन । नबिना ओली सत्ता जोगाउन नाङ्गो ढंगले लागेकी साँसद हुन । उता मतदाता मात्र रहेका र ईपानमा निकै धेरै सक्रिय रहेका रोषन बस्नेत राष्ट्रिय युवा संघका स्थायी समिति सदस्य हुन । उनी ओलीको युवा बिद्यार्थीहरुको किचेन क्याबिनेटका सदस्य हुन ।

मेहश बस्नेत उद्योगमन्त्री रहेका बेला उनको स्वकीय सचिबसमेत रहेका रोषन बस्नेत अहिले पनि दिन बिराएर बालुवाटार छिर्ने गर्छन । उनी ओलीको जन्मोत्सब मनाउन प्रदेश नं १ मा आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीसहितको टोलीलाई हेलिकोप्टर चार्टर्ड गरेर तेह्थुम गएका थिए । स्रोतका अनुसार उनले नै ओलीलाई ईपानका बारेमा रिपोर्टिङ गरिरहेका छन् ।

रोचक कुरा के छ भने गएको असार १५ गते ईपानका निर्धारित साधारणसभा यिनै बस्नेतको दबाबमा स्थगित भएको थियो । १५ गते निर्बाचन भएको भए ओली समुह कमजोर हुने देखिएपछि रोषनले त्यसको जानकारी बालुवाटारमा गएको स्रोत बताउँछ । त्यसपछि बालुवाटारले जे गर्दा राम्रो हुन्छ त्यही गर्न दिएको निर्देशन बमोजिम बस्नेतले १४ गते जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएर साधारणसभा रोक्न माग गरेका थिए । अन्तिम समयमा साधारणसभा रोक्न नमिल्ने प्रमुख जिल्ला अधिकारीले जबाफ दिएपछि बस्नेतले निकै ठुलो दबाब दिएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले कार्यालय समय सकिएपछि बेलुका ७ बजे निर्बाचन स्थगनको पत्र काटेको थियो ।

सीडीओले बस्नेतलाई राम्रोसँग चिनेपछि लकडाउनको कारण देखाएर साधारणसभा स्थगितको पत्र काटेको स्रोतले जानकारी दियो ।

साधारणसभा स्थगित हुनेबित्तिकै ओली समुहले प्रोक्सी मत बदरका लागि मुद्धा लिएर सीडीओ कार्यालय ललितपुर पुगेको थिए । यसरी सीडीओकोमा बिबाद पुगेपछि ईपानलाई सीडीओ कार्यालयले प्रोक्सीसम्बन्धी बिबाद समाधान गर्न दबाब दिएपछि ईपानका अध्यक्ष शैलेन्द्र गुराँगाईले सामाजिक संस्थामा प्रोक्सीको ब्यबस्था हुने नहुने सम्बन्धमा अधिबक्त्ता टिकाराम भटराईसँग लिखित कानुनी राय माग गरेका थिए ।

कानुन ब्यबसायी भटराईले कम्पनी ऐनमा भएको आफ्नो हिस्सा वा सेयरका आधारमा मतदान हुने प्रोक्सीको ब्यबस्था गैरसरकारी संस्थामा हुन नसक्ने लिखित राय दिएपछि प्रोक्सी बदर भएको थियो । ५५ प्रोक्सी मत बदर भएपछि ओली समुह अहिले निकै बलियो देखिएको छ । अब ओली समुह साधारणसभाको लागि तयारी देखिन्छ ।

सबै तयारी गरेर आफ्नो पक्ष मजबुद भएपछि यो समुहले प्यानलसहित उम्मेद्वारी घोषणा गरेको छ । जसमा अध्यक्षमा काँगे्रस समर्थित ब्यबसायी सुर्यप्रसाद अधिकारी, उपाध्यक्षहरुमा भरतबहादुर खत्री, उत्तम ब्लोन लामा र बलराम खतिवडा रहेका छन् । खतिवडा पनि काँगे्रस निकट ब्यबसायी हुन । महासचिबमा गोरे शेर्पा रहेका छन् । उनी नेकपा समर्थित ब्यबसायी हुन । सचिबमा प्रकाश दुलाल, भरत लामिछाने थापा र सुमन कुमारी जोशी रहेका छन् भने कोषाध्यक्षमा मिथुन पौडेल छन् । यि मध्ये दुलाल नेकपाको केन्द्रीय जलस्रोत बिभागका सदस्य हुन ।

अर्को समुहको अध्यक्षमा नेकपाका अध्यक्ष प्रचण्ड निकट प्रतिष्ठित ब्यबसायी कृष्णप्रसाद आचार्य, उपाध्यक्षहरुमा नेपाली काँगे्रस निकट कुमार पाण्डे, आशिष गर्ग र गणेश कार्की रहेका छन् । यो समुको महासचिबमा मोहन डाँगी रहेका छन् । उनी आफुलाई नेकपा बताउने गरे पनि पार्टीको सदस्य भने होइनन् र कुनै कमिटिमा पनि आबद्ध छैनन् । तेह्थुम घर भएका डाँगीले तेह्थुम सरोकार समाजको माध्यमबाट ओलीसँग सामान्य सम्बन्ध बनाए पनि उनी ओलीनिकट भने होइनन् । सचिबहरुमा आनन्द चौधरी, हिम पाठक र रामप्रसाद आचार्य रहेका छन् । चौधरी र पाटक काँग्रसनिकट हुन भने आचार्य नेकपानिकट ब्यबसायी हुन ।

ओलीको चासो किन ?

ईपान अर्बपति ब्यबसायीहरुको छाता संस्था भएको हुनाले ओलीको आँखा यतातिर परेको हो । प्रधानमन्त्री ओली आर्थिक चलखेल हुने हरेक संस्थाहरुलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् । जलबिद्युत आयोजनाहरुमा देश बिदेशका ठुला लगानीकर्ता संलग्न हुने र यो क्षेत्र ठुलो संभाबनाको क्षेत्र भएकाले ओलीको आँखा यतातिर परेको हो । अहिले निजी क्षेत्रबाट हालसम्म राष्ट्रिय विद्युत प्रणालीमा जडित क्षमता ६९५ मे.वा. निजी क्षेत्रका ९८ आयोजनाहरुबाट उत्पादन भएको छ भने निजी क्षेत्रका करिब ३,२०२ मे.वा. क्षमताका १३६ आयोजनाहरु निर्माणाधीन छन् ।

यसैगरि २,१२५ मे.वा. क्षमताका ११२ आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता गरेर वित्तिय व्यवस्थापनको तयारीमा छन् । विद्युत विकासबाट २,३६३.५ मे.वा. का ३५ आयोजनाहरुको विद्युत् उत्पादनको अनुमतीपत्र जारी हुने अवस्थामा छन् भने १६,३७८ मे.वा. का २५१ आयोजनाहरुको विद्युत उत्पादनको सर्भेक्षण अनुमती जारी भएको छ । करिब ३२६ मे.वा. बरावरका १२ वटा आयोजनाहरुले विद्युत उत्पादनको अनुमतिपत्रका लागि आवेदन गरेका छन र करिब ३७१.६१ मे.वा. बरावरका ४९ वटा सोलार आयोजनाहरुको अनुमती पत्र जारी भैसकेको छ ।

एक अध्ययनअनुसार जलविद्युत्मा निजी क्षेत्रबाट हालसम्मको लगानी करिब १० खर्व २० अर्व माथि छ भने विद्युत् खरिद विक्री सम्पन्न भएका र अनुमती पत्र जारि भएका सबै आयोजना निजी क्षेत्रले अगाडि बढाएमा यो क्षेत्रमा निजी लगानीले खर्बौको हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij