२०८३ साउन ९ शनिबार

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा गण्डकी प्रदेशमा रुपान्तरण

ई आर्थिक    मंगलबार, साउन ६ २०७७
5.7K
Shares
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा गण्डकी प्रदेशमा रुपान्तरण

ई–आर्थिक, काठमाडौं । नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई संघीय संरचनाअनुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरिएको छ । आइतबार नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।

सो अवसरमा साविक नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र हाल नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा, प्रदेश नम्बर ५ का निर्देशक सूर्यनारायण मालाकारले नयाँ प्रादेशिक निर्देशनालयका रुपमा प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेशको शुभारम्भ गरेका थिए । उक्त अवसरमा निर्देशक मालाकारले नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, पोखराका निर्देशक सुरेन्द्रमान सिंहलाई गण्डकी प्रदेशसँग सम्बन्धित विकास निर्माण, योजना र प्रशासनिक दस्तावेजहरु हस्तान्तरण गरेका छन् ।

पोखरामा आयोजित उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पठाउनुभएको शुभकामना सन्देश बाचन गरिएको थियो । शुभकामना सन्देशमार्फत प्रबन्ध निर्देशक अधिकारीले एफटिटिएच वितरणको मूल लक्ष्यलाई आत्मसात गरी आफ्नो कार्यक्षेत्रमा क्रियाशील हुन निर्देशन दिएका छन् । यसका साथै उनले कार्यसम्पादनमा आधारित प्रोत्साहन व्यवस्था लागू भइसकेकोले आफू कार्यरत सम्बन्धित प्रदेश प्रमुख तथा समस्त कर्मचारीहरुको संयुक्त प्रयासबाट प्रदेशलाई दूरसञ्चार सेवा विस्तार, सुदृढीकरण र ग्राहक सेवामा अब्बल सावित गर्ने विश्वास लिएको उल्लेख गरेका छन् ।

कम्पनीले मुलुकको संघीय संरचना बमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २, प्रादेशिक निर्देशनालय, काठमाडौ वागमती प्रदेश, प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेश, प्रादेशिक निर्देशनालय, भैरहवा प्रदेश नं. ५, प्रादेशिक निर्देशनालय, सुर्खेत कर्णाली प्रदेश र प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थापना गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij