तानेगासिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको एक रकेट। संयुक्त अरब इमिरेट्सको एचटूए नामक उक्त रकेट मंगल ग्रहसम्मको सातमहिने यात्रामा सोमबार उडेको छ । एपी
जापान : संयुक्त अरब एमिरेट्स ९यूएई०को पहिलो ऐतिहासिक मिसन अन्तर्गतको एचटूए रकेट सोमबार मंगल ग्रहको यात्राका लागि प्रक्षेपण गरिएको छ । जापानको कागोसिमास्थित तानेगासिमा अन्तरिक्ष केन्द्रबाट एचटूए रकेटमार्फत प्रक्षेपण भएको होप मिसनले मंगल ग्रहको मौसम र जलवायुबारे अध्ययन गर्ने बीबीसीले जनाएको छ ।
यसअघि पनि खराब मौसमका कारण गत साता प्रक्षेपणका दुईवटा प्रयास स्थगित गरिएका थिए । सात महिनाको अवधिमा करिब ५० करोड किलोमिटर दूरी पार गरेपछि सन् २०२१ को फेब्रुअरीमा होप मंगल ग्रहमा पुग्ने बताइएको छ। त्यति बेला नै यूएई स्थापनाको ५०औं वार्षिकोत्सव मिति पर्नेछ ।
अन्तरिक्ष यानको नमुना र निर्माण दुवैमा यूएईको अनुभव सीमित छ। तर पनि अमेरिका, रुस, युरोप र भारतले मात्रै सफलता हासिल गरेको क्षेत्रमा यूएईले पनि प्रयास गरेको छ। अमेरिकी विज्ञको परामर्श पाएका यूएईका इन्जिनियरहरूले जम्मा ६ वर्षमा एउटा परिस्कृत यान तयार पारेका हुन् ।
सतहभन्दा झन्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भूउपग्रहले उक्त ग्रहको अध्ययन गर्नेछ । विशेषगरी मंगल ग्रहमा हावा र पानी के कारणले कम भयो भन्ने विषयमा यसले थप जानकारी दिने बताइएको छ। उक्त ग्रहमा पठाइएका धेरै मिसनमध्ये आधाजसो विफल भएका छन् । होप प्रोजेक्टका निर्देशक ओमरान सराफले खतराहरू अध्ययन गर्दै आफ्नो देशको प्रयास सही भएकोेप्रति आफू आश्वस्त रहेको बताए । उनले भने, ‘यो अनुसन्धान र विकासको मिसन हो, विफलता एउटा विकल्प हो ।’ बीबीबी