ई–आर्थिक काठमाडौं : भोली सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भएका छन् । सरकारी निर्णयअनुसार नै व्यवसायी र यातायात मजदुर यातायात सञ्चालनमा राजी भएपछि भोलीदेखि थप सार्वजानिक यातायातका साधन गुड्न लागेका हुन ।
सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका आएका थिए । केही सार्वजानिक यातायातका सवारीसाधनहरु भने यसअघि नै सञ्चालनमा आउन थालिसकेका छन् ।
विभागमा आइतबार विभागका अधिकारीसहित व्यवसायी र यातायात मजदुर समेतको छलफल पछि व्यवसायी र यातायात मजदुर सवारीसाधान सञ्चालन गर्न राजी भएका हुन ।
कोभिड–१९ संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न विभागले आग्रह गरेकोे छ । व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णयमा व्यवसायीहरु पुगेका व्यवसायीले जानकारी दिए । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन गरेको उनले बताए ।
सरकारले हाललाई एक जिल्लाबाट अर्को जिल्ला नजाने गरी यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । काठमाडौं उपत्यकाको तीन जिल्लामा भने यो नियम लागू नहुने निर्णय पनि सरकारले यसअघि नै गरिसकेको छ ।
उपत्यकामा अहिले साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पोहरु फाट्टफुट्ट गुडिरहेका छन् ।
यातायात व्यवस्था विभागका अनुसार लामो दूरीका सवारी साधान पनि चलाउने प्रयास भइरहेको छ । त्यसका लागि व्यवसायीहरुले पनि तयारी गरिरहेको लामो दुरिका एक यातायात व्यवसायीले जानकारी दिएका छन् ।