ई–आर्थिक, काठमाडौं । झूटा र नक्कली मूल्य अभिवृद्धि कर बीजक मार्फत करीब रु. ३८ करोड राजस्व छली गर्ने दुई फर्ममाथि राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।
विभागले युनिक वाइड इन्टरनेशनल र न्यू युनिक इन्टरनेशनलका सञ्चालक भुवन पाण्डेमाथि उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
पाण्डेका दुई कम्पनीले वस्तु तथा सेवा नै खरीद नगरी झूटा र नक्कली मूल्य अभिवृद्धि कर बीजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेत चुहावट गरेको विभागको अनुसन्धानले देखाएको विभागले जानकारी दिएको छ ।
पाण्डेका यी दुई कम्पनीले मूल्य अभिवृद्धि करतर्फ रु. १२ करोड ४२ लाख, आयकरतर्फ रु. २२ करोड ८० लाख र लाभाशंतर्फ २ करोड ५७ लाख गरी कुल ३७ करोड ८० लाख राजस्व छलेको भेटाएको थियो ।
फर्म सञ्चालक पाण्डेविरुद्ध यही बिगो रकम कायम गरी बिगो र जरिवानासमेत असुल उपर तथा कैद सजायको माग गरेर अदालतमा मुद्दा दायर गरिएको हो ।