२०८३ साउन ९ शनिबार

कोरोनाका कारण विश्वभर एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्

ई आर्थिक    सोमबार, असार २९ २०७७
6.5K
Shares
कोरोनाका कारण विश्वभर एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्

लन्डन, असार २९ गते। कोरोनाभाइरस महामारीका कारण विद्यालयहरू बन्द हुँदा विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुस्किल रहेको एक अध्ययनले देखाएको छ । सेभ द चिल्ड्रेनले यस घटनालाई “अभूतपूर्व शैक्षिक आपतकाल” को संज्ञा दिएको छ ।

बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याङ्क विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालयहरू बन्द रहेका कारण विश्वभरका एक अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट वन्चित रहेको जनाएको छ । यो सङ्ख्या विश्वको कुल विद्यार्थी सङ्ख्याकाे करिब ९० प्रतिशत हुन्छ ।

सेभ द चिल्ड्रेनको प्रतिवेदनमा भनिएको छ, “हाम्रो मानव इतिहासमा विश्वभरका यति ठूलो सङ्ख्यामा बालबालिका पहिलोपटक विद्यालय शिक्षाबाट वन्चित रहेका छन् ।”

अनुमान अनुसार कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक सङ्कटका कारण करिब नाै करोडदेखि ११ करोड ७० लाख बालिबालिका गरिबीको चक्रमा फस्नेछन् । यसको असर बालबालिकाको पुनः विद्यालय भर्नामा पर्नेछ ।

पारिवारिक समस्याका कारण धेरै बालबालिकाहरू काममा लाग्ने वा बालिकाहरूको चाँडो विवाह हुनसक्ने भन्दै प्रतिवेदनमा यही कारण ७० लाखदेखि ९७ लाख बालबालिकाले स्थायी रुपमै विद्यालय छाड्ने देखिन्छ । यस्तै, यही सङ्कटका कारण सन् २०२१ को अन्त्यसम्ममा न्यून वा मध्यम आय भएका मुलुकमा शिक्षाको बजेटमा करिब ७७ अर्ब डलरले कमी हुनेछ ।

सेभ द चिल्ड्रेनका कार्यकारी प्रमुख इन्गर आशिङले कोरोना महामारीका कारण करिब एक करोड बालबालिकाले स्कुल छाड्ने देखिएको बताउनुभयो । उहाँले सरकार तथा दातृ निकायहरूले तत्कालै शिक्षामा लगानी बढाउनुको विकल्प नरहेको बताउनुभयो ।

प्रतिवेदनमा विश्वका १२ वटा मुलुकमा सर्वाधिक असर पर्ने उल्लेख छ । ती देशहरूमा नाइजर, माली, चाड, लाइबेरिया, अफगानिस्तान, गिनी, मौरीटानिया, येमन, नाइजेरिया, पाकिस्तान, सेनेगल र आइभरीकोस्ट रहेका छन् ।

-रासस / एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij