ई–आर्थिक, काठमाडौं । बुधबार तय भएको सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक फेरि दुई दिनपछि अर्थात असार २६ गतेसम्मका लागि स्थगित भएको छ । २६ गते पनि बैठक सर्न सक्ने संभाबना नै बढी छ । कुन दिन बैठक हुने भन्ने कुनै निश्चित छैन । यो बैठक असार १० गतेदेखि सुरु भएको हो । गएको १७ गते करिब एक घण्टा बसेर स्थगित भएको बैठक त्यसयता पटक–पटक स्थगित गरिएको छ ।
स्थायी समितिको बैठकअघि बिबादित मूल बिषयमा सहमति जुटाउन भनेर दुई अध्यक्षबिच बैठक बस्ने गरेको छ । तर पहिलो बरियताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमति हुन नसक्दा स्थायी समितिको बैठकको हालत यस्तो भएको हो ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने र अर्का अध्यक्ष दाहालले एक पद छाड्नु पर्ने अडानले अध्यक्षद्वयबिच सहमति नजुटेको बताइएको छ । यही बहानामा बैठक पटक–पटक सारिएको छ । यद्यपि बैठक यतिकै कारणले भने सारिएको होइन । यो ओलीको चार रणनीति अनुसार बैठक सारिएको हो । धम्क्याउने, फकाउने र गलाउने ।
१. धम्क्याउने रणनीति : केही दिनअघि मात्र ओलीले एक्कासी संसदको बैठक अन्त्य गरेर राष्ट्रपति निबास पुगे । राष्ट्रपति निबास पुगेर ३ घण्टासम्म बसे । बसाई सामान्य कुराबाहेक कुनै एजेण्डा थिएन । आफ्नै पार्टीको र आफ्नै टिमबाट उपाध्यक्ष रहिसकेकी राष्ट्रपति बिद्यादेबी भण्डारीसँग ओलीको सुमधुर सम्बन्ध रहिआएको छ । उक्त भेटघाटमा राजनीतिक, पारिबारिक र अन्य कुरा मात्र भए ।
राष्ट्रपति भण्डारी राजनीतिज्ञ भएका नाताले मुलुकको राजनीतिबारे सबै कुरा मसिनो गरेर नै बुझेकी छिन् । त्यसैले ओलीले राजनीतिका बारेमा केही बताउनै पर्दैन । भलाकुसारी गरेर बसेकै बेला सबै मन्त्रीहरुलाई खबर पुग्यो, बालुवाटार अनिबार्य हाजिर हुनु भनेर ।
मन्त्रीहरुलाई ५ बजे बोलाइएको थियो । ओली ८ बजे मात्र बालुवाटार फर्के । अनि मन्त्रीहरुलाई अब परिस्थिति निकै जटिल भएकाले कित्ता प्रष्ट गर्नु पर्ने भन्दै ओलीले दबाब मात्र दिएनन्, त्रसित पनि पारे । हाउस बन्द गर्नु, राष्ट्रपतिसँग लामो बसाई गर्नु र मन्त्रीहरुलाई कित्ता प्रष्ट पार्नु भन्ने निर्देशन केबल धय सिर्जनाका लागि मात्र थियो । ओलीले कुनै हालतमा छाड्दैनन् । बरु गम्भीर र निकै जटिल निर्णय लिन्छन् भनेर बाहिर भय सिर्जना गर्न गरिएको फण्डा मात्र थियो, त्यो ।
कतिसम्म भने अख्तियारसमेत सक्रिय बनाउँदैछन्, संकटकाल लगाउने भए, पार्टी बिभाजन गर्ने भए भनेर बाहिर ब्यापक प्रचार गर्न उनैले लगाए । यो सबै प्रचण्ड–माधब समूहको लागि मनोबैज्ञानिक त्रास सिर्जनाको लागि गरिएको फण्डा हो । भय सिर्जना गरेर उनी प्रचण्ड–माधब समूहलाई पछि फर्काउन सकिन्छ कि भनेर यो नीति अपनाइरहेका छन् ।
२. फकाउने रणनीति : ओलीले धम्कीसँगै फकाउने रणनीति पनि एकसाथ अघि बढाएका छन् । यसमा खासगरी उनले पदीय प्रलोभन देखाउने गरेका छन् । बालुवाटार बोलाएर आफ्नो कित्ता प्रष्ट गर्नुहोस भन्नुको अर्थ दबाबको साथै मलाई साथ दिए मन्त्री पद सुरक्षित हुने हो, नभए अर्को बनाउँछु भन्ने हो । यो बेला मन्त्री पद छाड्न कोही तयार नहुने हुदा मन्त्रीको लोभ देखाएर स्थायी समितिको बैठकलाई तलबितल गर्ने उनको रणनीति देखिन्छ । त्यो बाहेक अर्थमन्त्रालय, शहरी बिकास मन्त्रालय, राज्य मन्त्रीहरुको समेत प्रलोभन दिन थालेका छन् ।
दुई बर्ष पुगेका मन्त्रीको स्थानमा अरु मन्त्री ल्याउने प्रचार केही स्थायी समिति सदस्यलाई आशा देखाउने र फकाउने उद्देश्यबाट आएको देखिन्छ । उता माथिल्लो तहका नेताहरुलाई पनि उनी यही रणनीति अन्तर्गत फकाउँदै छन् । प्रचण्डलाई केही समयपछि एकल कार्यकारी अध्यक्ष दिन सकिने र यो कार्यकालपछि पाँचै बर्ष प्रधानमन्त्री दिन सकिने गरी फकाइरहेका छन् । बामदेब गौतमलाई समेत यस्तै प्रलोभनले फकाइरहेका छन् ।
सचिबालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई भबिश्यको राष्ट्रपति भन्दै फकाउन थालेको बताइन्छ भने बामदेब गौतमको श्रीमति तुलसालाई मन्त्री पदको प्रलोभन दिइएको छ ।
३. गलाउने रणनीति : धम्की र फकाउने रणनीति पछि अर्को उनको रणनीति गलाउने रहेको देखिन्छ । असारको १० गतेबाट सुरु भएको बैठक १५ दिन बितिसक्दा पनि एउटै एजेण्डा पनि छलफल गरेर सकिएको छैन । जब कि बैठकमा ७ ओटा एजेण्डा तय गरिएको छ ।
बैठकको कुनै निश्चितता छैन । कति लामो समय हुने भन्नेको कुनै सीमा छैन । कुनै दिन तोकिदियो, अनि फेरि स्थगित गरिदियो । यसले नेताहरुको समयको चौपट मात्र भएको छैन, मानसिक तनाब पनि हुन थालेको छ ।
अधिकाँश स्थायी समितिका सदस्यहरु साँसद छन् । बाढि पहिरो सुरु भइसक्यो । धनजनको क्षतिमा जनतालाई राहत र साहनुभूति दिनु पर्ने बेलामा बैठक भन्दै राजधानीमा रुमलिनु परेको छ । जनतालाई दुःख परेको बेला साथ र सहानुभूति दिन सकिएन भने अर्को चुनाबमा भोट माग्न नगए हुन्छ । यस्तो हुनुभन्दा बरु छाडिदिउँ है भन्ने अबस्था पु¥याउन खोजेको देखिन्छ ।
कोरोनाको संक्रमणले सारा ब्यापार ब्यबसाय चौपट छ । अर्थतन्त्र डामाडोल बनेको छ । यही बेला बाढी पहिरोतिर राज्यको ध्यान जानु पर्ने अबस्था आइरहेको छ । पार्टीभित्रको कलहमै समय फाल्दा जनताले ओलीको मात्र होइन, सबै नेताहरुको र नेकपाकै आलोचना गर्नेछन् । यसले प्रचण्ड र नेपाल पनि दबाबमा पर्ने छन् । यही सोचेर ओलीले जानी–जानी नेताहरुलाई गलाउन यस्तो रणनीति अपनाएका हुन ।
४. चाइना कार्ड : ओलीले पार्टीभित्रको बिबादमा चाइना कार्ड पनि समानान्तरढंगले अघि सारेका छन् । यसै कारण अहिले चिनियाँ राजदुत र कुटनीतिज्ञहरु कुटनीतिक मर्यादासमेत ख्याल नगरीकन नेता–नेताको घरदैलो चाहरिरहेका छन् । यसक्रममा माधब नेपाल, झलनाख खनाल, रामबहादुर थापालगायतलाई चाइनिज राजदूतल भेटेर मिलेर जान भनिसकेकी छिन् ।
भेटमा नेपाल र चीन मिलेर दुबै देशको आर्थिक प्रगतिको लागि धेरै काम गर्न सकिने हुदा यो परिस्थितिलाई कायमै राख्न भन्दै सरकार नहटाउन मनोबैज्ञानिक दबाब दिने गरिएको छ । यदि यही सरकार रहेमा नेपालको आर्थिक बिकासका लागि चीनले ठूलो लगानी गरिदिने आश्वासन दिने गरिएको छ ।
खर्च गर्ने क्षमताअनुसार मागेजति सहयोग दिन चीन तत्पर भएकाले सबै बिबाद छाडेर पार्टीलाई मजबुद बनाउन चीनको आग्रह छ । यो सरकारलाई सहयोग गर्ने नेताहरुप्रति चीनको बिशेष ध्यान जाने कुरा पनि कुटनीतिक पाराले बताइएको छ ।