ई–आर्थिक, काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको स्थिति भयावह हुन थालेको छ । असावधानि र कमजोर सरकारी स्वास्थ्य सुरक्षा रणनीतिका कारण अमेरिकामा स्थिति भयावह हुन थालेको हो । अहिले अमेरिकामा दैनिक १ लाख संक्रमित हुनसक्ने विज्ञहरुले चेतावनी दिन थालेका छन् ।
अमेरिकाका सङ्क्रामक रोगका एकजना वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएको बताएका छन् ।
आउँदा दिनहरू अमेरिका निम्ति थप चुनौतीपूर्ण हुने उनको ठम्याइ छ ।
थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी अर्थात् दैनिक एक लाख मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीको चेतावनी छ ।
अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन् । उनले नागरिकस्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिए ।
अमेरिकी सिनेटको समितिद्वारा आयोजित सुनुवाइमा उनले भने, ‘हामीले अहिले सङ्क्रमण नियन्त्रण गर्न सकेका छैनौँ भन्ने स्पष्ट छ ।’ अमेरिकाको दक्षिण र पश्चिमका राज्यहरूमा सङ्क्रमण व्यापक रूपमा बढीरहेको देखिएको छ ।
डा. फाउचीले फ्लोरिडा, एरिजोना, टेक्सस र क्यालिफोर्नियालाई अहिले तीव्र गतिमा महामारी फैलिएको राज्यको रूपमा उदाहरण दिए ।
त्यस क्षेत्रका १६ वटा राज्यले व्यवसाय र कारोबार खोल्ने आफ्नो पूर्व योजना स्थगित वा फिर्ता लिएको समाचार संस्था सीएनएनले जनाएको छ । डा. फाउचीका अनुसार देशका केही भागमा रोकथामको राम्रो काम भइरहे पनि देशको एउटा भागमा प्रकोप रहँदा अरू पनि जोखिमा परेका छन् । उनले भने, ‘हामीले जहाँ सङ्क्रमण बढी छ त्यहाँमात्र ध्यान दिन सक्दैनौँ त्यसैले सिङ्गो देश नै जोखिममा छ ।’ उनले सबै अमेरिकीलाई निःशुल्क वितरण गर्ने गरी मास्क उत्पादन गर्न अमेरिकी सरकारलाई आग्रह पनि गरे ।
विज्ञले त्यस्तो बताइ रहँदा सिनेटको समितिद्वारा आयोजित सुनुवाइमा सिनेटर एलिजाबेथ वारेनले भनिन्, ‘मैले निश्चित पूर्वानुमान गर्न त सक्दिन तर यो निकै अत्याउने ढङ्ले बढिरहेको छ, त्यो निश्चित हो ।’
डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेद्वार जो बाइडले कोरोनाभाइरस महामारीसँग जुध्न सरकारले चालेका कदमको चर्को आलोचना गरेका छन् । उनले त्यसको निम्ति राष्ट्रपति डोनल्ड ट्रम्पलाई निशाना बनाए ।
आफ्नो गृहक्षेत्रमा बोल्दै उनले ट्रम्पलाई विज्ञान अस्वीकार गर्ने व्यक्तिको संज्ञा दिए । र, राष्ट्रपतिकै कारण नागरिकले भयानक बलिदान दिन नसक्ने बताएको बीबीसीले जनाएको छ ।