२०८३ असोज ३ शनिबार

प्रतिकिलो १०० रुपैयाँमा सलह किन्ने कृषिविज्ञ राईको घोषणा

ई आर्थिक    मंगलबार, असार १६ २०७७
5.7K
Shares
प्रतिकिलो १०० रुपैयाँमा सलह किन्ने कृषिविज्ञ राईको घोषणा

खोटाङ : कृषिविज्ञ मदन राईले प्रतिकिलो १०० रुपैयाँमा सलह खरिद गर्ने घोषणा गरेका छन्। भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो १०० रुपैयाँमा खरिद गर्ने बताएका हुन्।

“कसैले समाएर ल्याइदिए किलोको १००रुपैयाँले, एक हजार किलोसम्मको एक लाख रुपैयाँ भुक्तानी गरिनेछ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेका कृषिविज्ञ राईले सामाजिक सञ्जालमा लेखेका छन्,– “माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ।”

कृषिविज्ञ राईले आइतबार लेखेको फेसबुक स्टाटसमा भनिएको छ, “पक्रेर ल्याएको सलहबाट केही पशुपक्षीको दाना बनाउँछौँ। सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ। केही हामीसँग भएको सबैखाले पक्षीलाई खुवाउने छौँ।” उनले सलह किरा नियन्त्रणका नाममा विष किनेर घुस खाने माध्यम नबनाउन र वातावरण विषालु नबनाउन आग्रह गरेका छन्। विषले सलह मरे पनि उक्त मरेको सलह खाने पशुपक्षीसमेत मर्ने हुँदा सलह नियन्त्रणका नाममा विष प्रयोग नगर्न सरकारलाई आग्रह गरिएको राईको भनाइ छ।

ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा देखिएको छ। “बालीनालीमा देखिएको छैन”, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले भने, “लगातार परिरहेको पानीले रोकेर घरको भित्तामा ओत लागेको हुन सक्छ।”

शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ। जिल्लाका विभिन्न ठाउँमा एकसाथ सलह देखिएपछि जिल्लास्थित स्थानीय तह तथा कृषि ज्ञान केन्द्र खोटाङको आपतकालीन बैठक बसेर नियन्त्रणको प्रयास थालिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij