ई–आर्थिक, काठमाडौं । कोरोनाभाइरस कोभिड–१९ का कारण विश्वभर तीन लाख ४७ हजार ९०७ को मृत्यु भएको छ । कोरोनाभाइरस सम्बन्धि तथ्यांक दिने बेवसाइट वल्र्डोमिटरका अनुसार सङ्क्रमितको सङ्ख्या भने ५५ लाख ९० हजार ३५८ जना पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४ घण्टाको अवधिमा करिब १ लाख नयाँ सङ्क्रमित थपिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ बढीले ज्यान गुमाएको पनि उक्त विश्वविद्यालयले जानकारी दिएको छ ।
सो विश्वविद्यालयका अनुसार कोरोनाभाइरसबाट विश्वभर ५३ हजार २११ जना भन्दा बढीको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेको छ । त्यसैगरी संक्रमित मध्ये बाँकीको स्वास्थ्य अवस्था सामान्य वा मध्यम रहेको छ ।
युरोपेली मुलुकहरूमध्ये कोरोनाभाइरसबाट सबैभन्दा बढी बेलायतमा मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ९१४ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६१७ व्यक्तिको मृत्यु भएको छ । योसहित कोरोनाभाइरसबाट अमेरिकामा मृत्यु हुनेको कूल सङ्ख्या ९९ हजार ८०५ पुगेको छ ।