ई–आर्थिक, भक्तपुर । भक्तपुरका होटल व्यवसायीहरुले आफ्ना होटल तथा गेष्ट हाउसलाई क्वारेन्टाइनस्थल बनाउन दिने भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्य होटल व्यवसायीहरुले आफ्ना होटल तथा गेस्ट हाउसलाई क्वारेन्टाइन स्थल बनाउन सकारात्मक देखिएका हुन् ।
भक्तपुरस्थित संकट व्यवस्थापन समिति (सीएमसी) सँगको छलफलमा होटल व्यवसायीहरुले होटल तथा गेस्ट हाउसलाई क्वारेन्टाइन बनाउन अन्तिम विकल्पको रुपमा मात्रै लिन आग्रह गरेका छन् । भक्तपुरको सीएमसीले भक्तपुरसँगै नगरकोट होटल तथा गेस्ट हाउसलाई समेत क्वारेन्टाइनस्थल बनाउने तयारी गरिरहेको छ ।
होटल तथा गेस्ट हाउसलाई क्वारेन्टाइन बनाउनेबारे समितिले यहाँका होटल व्यवसायीहरुसँग बैठक गरेको थियो ।
समितिकी संयोजक एवं भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षको बैठकमा व्यवसायीहरुले कोरोना भाइरसको महामारीबाट बच्न आफ्ना होटल तथा गेस्ट हाउसलाई क्वारेन्टाइन बनाउन तयार रहेको र आवश्यक परे आफूहरु बस्दै आएको घरसमेत क्वारेन्टाइन बनाउन तयार रहेको सुनाएका थिए ।
तर भक्तपुरको कोर तथा सम्पदा क्षेत्रका होटल तथा गेस्टहाउसमा क्वारेन्टाइन बनाउनु चुनौतीपूर्ण भएकाले यसलाई अन्तिम विकल्पको रुपमा मात्रै लिन आग्रह गरेको होटल एसोसिएसन अफ भक्तपुर (ह्याब) का अध्यक्ष सत्यराम सुवालल जानकारी दिए ।
सीएमसीले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न होटल तथा गेस्ट हाउसलाई पनि क्वारेन्टाइन बनाउने तयारी भएकोबारे जानकारी दिएका अध्यक्ष सुवालले बताए । एमसीसीको प्रस्ताव स्वीकार्य भएपनि सबै होटल तथा गेस्ट हाउसलाई क्वारेन्टाइन बनाउन चुनौतीपूर्ण हुने उनले बताए ।
त्यस्तै तीन वर्गमा विभाजन गरेर होटल तथा गेस्ट हाउसलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने मोडालिटीबारे बैठकमा जानकारी दिइएको ह्याबका अध्यक्ष सुवालले जानकारी दिए ।
उनका अनुसार पहिलो वर्गमा समुदाय वा वस्तीबाट टाढा रहेको, दोस्रोमा समुदायसँगै रहे पनि आफ्नै कम्पाउन्ड वाललगायत भएको र तेस्रोमा २० वटा भन्दा बढी कोठा भएको होटल तथा गेस्ट हाउस छानेर क्वारेन्टाइन बनाइने सीएमसीको योजना रहेको छ ।
व्यवसायीहरुसँगको बैठकमा प्रमुख जिल्ला अधिकारी पाण्डेले सार्वजनिक ठाउँ, सरकारी विद्यालय तथा कलेज, सामुदायिक भवन, पार्टी प्यालेसपछि मात्रै होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न लागिएको जानकारी दिएकी थिइन् ।
छलफलमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले होटल तथा गेस्ट हाउसलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दा सरकारले उचित शुल्क व्यहोर्ने जानकारी दिएका थिए ।
सीएमसी बैठकमा जानकारी दिइएअनुसार विदेशबाट आउनेमध्ये प्रदेश १ र २ का नेपालीहरुलाई सुरक्षित घर फर्कनुअघि भक्तपुरमा होल्ड गर्ने भएको छ । यसरी होल्ड हुन आउने हजारौं नेपालीलाई भक्तपुरमा क्वारेन्टाइनमा राख्ने तयारी अघि बढाइएको हो । सरकारले चरणबद्ध रुपमा विदेशमा रहेका नेपालीलाई फर्काउने प्रक्रिया अघि बढाइरहेको छ ।
त्यस्तै कोरोना भाइरसको संक्रमण भक्तपुरकै समुदायमा फैलिए संक्रमित र उनको सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा राख्न आवश्यक व्यवस्था गर्न यहाँका होटलहरुसँग सहजीकरण गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
भक्तपुरमा मात्रै ६० वटा होटल तथा गेस्ट हाउस रहेका छन् । ती होटल तथा गेस्ट हाउसमा करिब चार सय २० वटा कोठा रहेको ह्याबले जनाएको छ । ह्याबमा भने यहाँका ५४ वटा होटल तथा गेस्ट हाउस आवद्ध रहेका छन् ।