२०८३ साउन ९ शनिबार

श्रमजीविको लागि सरकारले विशेष राहत प्याकेज ल्याओस् : प्रचण्ड

ई आर्थिक    शुक्रबार, बैशाख १९ २०७७
3.5K
Shares
श्रमजीविको लागि सरकारले विशेष राहत प्याकेज ल्याओस् : प्रचण्ड

ई-आर्थिक, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण श्रमिकको सुस्वास्थ र प्रगतिको अपेक्षासहित शुभकामना व्यक्त गर्नुभएको छ । “विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ, यतिबेला संसारभरका श्रमजीवि मजदुरहरुको रोजगारी गुमिरहेको छ”, सन्देशमा भनिएको छ, “दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।”

देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पु¥याउनुपर्ने कर्तव्य सबैको भएको सन्देशमा उल्लेख छ । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठघण्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात् मई १ मा विश्वभर अन्तरराष्ट्रिय मजदुर दिवस मनाइन्छ ।

नेपालमा विसं २००३ मा विराटनगर जुट मिलबाट शुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनमा श्रमजीवी जनताको बलिदानीपूर्ण संघर्षलाई गर्वका साथ स्मरण गरेको कुरा सन्देशमा छ । “कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना गर्दछु”, सन्देशमा भनिएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij