२०८३ भाद्र २९ सोमबार

साँसद सुरेन्द्र यादब प्रकरणमा अपहरण कसुर आकर्षित हुने कानुनी आधारहरु

ई आर्थिक    शनिबार, बैशाख १३ २०७७
32.2K
Shares
साँसद सुरेन्द्र यादब प्रकरणमा अपहरण कसुर आकर्षित हुने कानुनी आधारहरु

समाजबादी पार्टी बिभाजनको लागि गरिएको साँसद डा. सुरेन्द्र यादब ‘अपहरण’ प्रकरणले नेपालको राजनीति यतिबेला अत्यन्त दुर्गन्धित बनेको छ । यो प्रकरणले ०४८ सालको राजनीतिक घटनाको पुनराबृत्ति मात्र गरेको छैन, लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर प्रहार गरेको छ र यो ब्यबस्थाप्रति जनतामा चरम बितृष्णा जगाएको छ । ०४६ सालको परिबर्तनपछि सत्तापक्षबाट भएको सुरासुन्दरी प्रकरण, साँसद खरिद बिक्री तथा अपरहणले उक्त ब्यबस्था पतन भएको दुनियाँसामु जगजाहेर छ ।

नेपालको राजनीतिमा यस्तो बिकृति हटाउन नेपाली जनताले ठूलो बलिदानी गरे र गणतन्त्रको स्थापना भयो । गणतन्त्रको स्थापनापछि निर्माण भएको दुई तिहाई जनमतको कम्युनिष्ट पार्टीको सरकारले ०४८ सालको राजनीतिक बिकृतिलाई माथ गर्दै प्रतिपक्ष दल बिभाजन गर्न गरेको साँसद ‘अपरहरण’जस्तो घृणित र जघन्य अपराधको जति निन्दा गरे पनि कम हुन्छ । यो प्रकरणमा सत्ता पक्षकै दुई साँसद र नेपाल प्रहरीका पूर्बमहानिरीक्षक संलग्न हुनु झन गम्भीर घटना हो । यसले सरकार, सत्तासिन कम्युनिष्ट पार्टी मात्र बदनामी भएको छैन लोकतान्त्रिक गणतन्त्रमाथि कहिलै नपखालिने कालो बदनामीको धब्बा लगाई दिएको छ ।

सबै ब्यबस्था उस्तै हो भन्ने सन्देश प्रबाह गरेर गणतान्त्रिक ब्यबस्थाको भबिश्यमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ । कुनै पार्टी वा ब्यक्तिको कुरा मात्र होइन जनताले रगत र पसिनासँग साटेको ब्यबस्थालाई नै कलंकित र दुषित बनाएको यो प्रकरणका दोषीहरुलाई कानुनी कठघरामा उभ्याउन ईतिहासले माग गरेको छ । यस्ता कुपात्रको अन्त्य नभएमा मौजुदा राजनीतिक ब्यबस्था जतिबेला पनि दुर्घटनामा पर्न सक्छ । यो प्रकरणमा मुछिएका पात्रहरुलाई कानुनी कठघरामा उभ्याउन सकिन्छ कि सकिदैन ? मौजुदा कानुनी ब्यबस्था कस्तो छ ? यसबारेमा निम्न कानुनी प्राबधान हेरौ :

अपहरणको परिभाषा

मुलुकी अपराध संहिता ऐन २०७४ को भाग-२, परिच्छेद – १७
अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर

२११. अपहरण गर्न नहुने :

(१) कसैले कुनै व्यक्तिलाई अपहरण गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले अपहरण गरेको मानिनेछ :–
(क) कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा वा,
(ख) कुनै व्यक्तिलाई निजको मञ्जुरी विना वा बालबालिका वा शारीरिक अशक्तताको कारणले अरुको आश्रयमा बसेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिलाई निजको बाबु आमा वा संरक्षकको मञ्जुरी विना वा झुक्यानमा पारी जवर्जस्ती कुनै ठाउँमा लगेमा ।

२१२. शरीर बन्धक लिन नहुने : (१) कसैले कसैको शरीर बन्धक लिन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कुनै व्यक्तिलाई निजको मञ्जुरी विना वा बालबालिका र होस ठेगान नभएको व्यक्ति भए निजको आमा बाबु वा संरक्षकको मञ्जुरी विना बल प्रयोग गरी वा सोको धम्की दिई, डर त्रास देखाई, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई छलकपट गरी, झुक्यानमा पारी, नशालु वा मादक पदार्थ सेवन गराई, यातायातको साधन वा रहे बसेको ठाउँ कब्जा गरी वा नियन्त्रणमा लिई थुनामा वा नियन्त्रणमा राखेमा शरीर बन्धक लिएको मानिनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मानसिक रुपमा अस्वस्थ व्यक्तिलाई निजको बाबु, आमा वा संरक्षकको मञ्जुरी लिई असल नियतबाट सम्बन्धित व्यक्तिको हितको लागि उपचार गर्ने क्रममा वा अन्य कुनै प्रयोजनका लागि कसैको निगरानी वा नियन्त्रणमा राखिएकोमा शरीर बन्धक लिएको मानिने छैन ।

२१३. अपहरण वा शरीर बन्धक लिएमा हुने सजाय : कसैले ज्यान लिने, कुटपिट गरी चोट पु¥याउने, जवर्जस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, मानिस बिक्री गर्ने वा दास बनाउने वा इच्छा बिरुद्ध जवर्जस्ती काममा लगाउने, वेश्यावृत्तिमा लगाउने, यातना दिने, कुनै काम गर्न वा

गराउन बाध्य गराउने, मुक्ति रकम लिने वा प्रचलित कानून बमोजिम कसूर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले दफा २११ वा २१२ बमोजिमको काम गरे वा गराएको भए सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना र त्यस बाहेक अन्य उद्देश्यले गरे वा गराएको भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीस हजारदेखि पचास हजार रुपैयाँ सम्म जरिबाना हुनेछ ।

२१४. थप सजाय हुने (१) दफा २११ बमोजिम अपहरण गरी दफा २१२ बमोजिम शरीर बन्धक लिने व्यक्तिलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र एक लाखदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

(२) कसैले अपहरण गरी वा शरीर बन्धक लिई यस ऐन वा कानून बमोजिम कसूर मानिने अन्य कुनै काम गरेको रहेछ भने निजलाई त्यस्तो कसूर बापतको सजायमा उपदफा (१) बमोजिमको सजाय थप हुनेछ ।

(३) दफा २११ र २१२ को कसूर सङ्गठित रुपमा गरे गराएको रहेछ भने त्यस्तो गराउने व्यक्तिलाई थप दुई वर्ष कैद सजाय हुनेछ ।
२१५. दुरुत्साहन दिने वा आदेश दिने वा उद्योग गर्ने वा षडयन्त्र गर्ने व्यक्ति वा मतियारलाई सजाय हुने ः (१) यस परिच्छेदमा लेखिएको कसूर गर्न दुरुत्साहन दिने वा आदेश दिने व्यक्तिलाई मुख्य कसूरदारलाई भए सरह सजाय हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो कुराको उद्योग वा षड्यन्त्र गर्ने वा मतियार हुने व्यक्तिलाई सो कसूरमा हुने सजायको आधा सजाय हुनेछ ।

२१६. आत्मसमर्पण गरेमा सजाय कम हुने : यस परिच्छेद अन्तर्गतको कसूर गर्ने व्यक्तिले कसूर गर्दा गर्दैको बखत सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गरेमा वा अन्य कसूरदार वा सो कसूर गर्ने गिरोहका सदस्यलाई पक्राउ गर्न सहयोग पु¥याएमा अवस्था हेरी अदालतले निजलाई सजाय कम गर्न सक्नेछ ।

२१७. क्षतिपूर्ति भराई दिनु पर्नेः (१) यस परिच्छेद अन्तर्गतको कसूर गरे वा गराएको ठहरेमा कसूर गर्ने वा गराउने व्यक्तिबाट पीडित व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको क्षतिपूर्ति पीडित व्यक्ति मरी सकेको भए निजको नजिकको हकदारलाई भराई दिनु पर्नेछ ।

२१८. हदम्याद (१) यस परिच्छेद अन्तर्गतका कुनै कसूर गरी कसैको ज्यान लिएकोमा जहिले सुकै पनि उजुर गर्न सकिने छ ।
(२) उपदफा (१) मा लेखिए बाहेक यस परिच्छेद अन्तर्गतको कुनै कसूर भए गरेको मितिले दुई वर्ष र दफा २११ र २१२ अन्तर्गतको कसूर भएकोमा सम्बन्धित व्यक्ति त्यस्तो कसूरबाट मुक्त भएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।

अव सुरेन्द्र यादवलाई अपहरण गरिएको हो कि होईन भन्ने चेक गरौ :

•सबै भन्दा पहिला पिडित भनिएको ब्यक्ति सुरेन्द्र यादव के भन्छन् भन्ने महत्वपुर्ण कुरा हो र उनले प्रहरी समक्ष मौखिक वा लिखित उजुरी गराएकी गराएनन् वा उनको परिवार आफन्त वा उनको पार्टीले प्रहरी समक्ष कुनै पनि माध्यम बाट उजुरी गरे वा गरेनन् भन्ने प्रश्न मुख्य हो ।
•यसको साथ साथै बिभिन्न संचार माध्यमहरुमा आएको कुरालाई गंभिरता पुर्वक हेर्ने हो भने के छ त अवस्था ?
•सुरेन्द्र यादबको पार्टिका केन्द्रिय सदस्य विश्वसद्धीप पाण्डेले अपहरण भएको दावि ट्विटर मार्फत गरे ।
•पार्टि अध्यक्ष बाबुराम भट्टराईले पुर्व प्रहरी प्रमुखले अपहरण गरेको भन्ने सम्मको ट्विट गरेको अवस्था छ ।
•जनकपुरवाट काठमाण्डौ रातारात ल्याईएको र नक्शाल स्थित मेरिट होटलमा राखिएको र २०७७ बैशाख ११ गते विहान अरुको आँखा छली भागी सुरेन्द्र यादव आफ्नो पार्टिको सम्पर्कमा आएको भन्ने संचार माध्यममा आएको छ ।

•पुर्व प्रहरी प्रमुख सर्बेन्द्र
•पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनालले आफुले सुरेन्द्र यादवलाई काठमाण्डौ ल्याएको कुरा स्विकार गरेको भन्ने पहिलो पोष्ट अनलाईनले दावा गरेको छ ।

उजुरी के हो ?
•फौजदारी अपराध सम्बन्धमा प्रहरीले संचार माध्यमबाट जानकारी पाएको कुराको सत्य तथ्य छानविन गरी पिडितले उजुरी नदिए पनि प्रहरी प्रतिबेदनको आधारमा मुद्धा चलाउन सक्छ ।
•यो घटनामा संलग्न भएका अपहरणकारी प्रहरी प्रमुख भैसकेको ब्यक्ति भएको हुँदा शक्तिशाली भएको कारण डर,त्रासको कारण पिडितले उजुरी नदिने अवस्था आएको पनि हुन सक्छ ।
•यस्तो अवस्थामा प्रहरीले प्रमाणको भेरिफिकेशन गर्नु पर्ने हुन्छ । त्यो कसरी गर्ने त ?
•लकडाउनको अवस्था भएको हुँदा सामान्य अवस्थामा घरवाट बाहिर ननिस्कनु पर्ने बेलामा सर्बेन्द्र खनाल लगाएत अन्य संधिग्द ब्यक्तिहरु काठमाण्डौबाट जनकपुर जानु पर्ने कारण के थियो ? र उनिहरु कति बजे गए र कति बजे काठमाण्डौ फिर्ता भए भन्ने कुरा संलग्न भनिएका ब्यक्तिहरुको मोबाईलको कलवाईज लोकेशन हेरमा प्रमाणित हुन्छ ।
•काठमाण्डौदेखि जनकपुरसम्म पर्ने बाटोको सिसिटिभी फुटेज चेक गर्ने ।
•होटल मेरिटको सिसिटिभि फुटेज लगायत CDR, Call wise location and BTS लगायतको अनुसन्धानबाट सर्बेन्द्र खनाल लगायत पिडितको त्यहाँ उपस्थिती प्रमाणित गर्दछ ।
•सुरेन्द्र यादव होटलबाट अरुको आँखा छलि त्यहाँबाट उम्कि पार्टिको सम्पर्कमा पुग्नुबाट समेत उनलाई छलकपट,डर धाक धम्कि वा उनको ईच्छा विपरित ल्याएको भन्ने कुरा पुष्टि हुन्छ र यी कुराहरु अपहरणको परिभाषा भित्र पर्ने भएको हुँदा सम्लग्नहरु जति सुकै शक्तिशाली भएता पनि कार्वाहीको भागिदार ठहरिन्छन् ।

अव के गर्नु पर्छ ?

•पिडित वा निजको परिवारले जाहेरी दिने ।

•पार्टिको तर्फबाट जाहेरी दिने ।
•प्रहरीले तथ्यको भेरीफाई गरी तत्काल प्रमाण संकलन गरी प्रहरी प्रतिबेदनको आधारमा मुद्धा दर्ता गरी अदालतबाट पक्राउ पुर्जि जारी गरी संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान गर्ने ।
कुनै पनि कार्य अपराध हुनको लागि अपराधीक मनसाय र अपराधीक कार्य हुन जरुरी हुन्छ यो केसमा दुबै स्पष्ट छ।मनसाय पार्टी फुटाएर राजनीतिक फाइदा लिने र जनकपुर बाट विभिन्न दबाब र प्रभावमा पारि भाग्न उम्कन नपाउने गरि ईच्छा विपरित अर्को स्थानमा पुर्याउने काम गरिएको छ । कुनै पनि कार्य अपराध हुन mens rea (मनसाय) र actus reus (कार्य) गरी दुई तत्व हुनुपर्छ । यो प्रकरणमा यि दुबै तत्व छन् । त्यसैले यसमा अपहरणसम्बन्धी कानुन आकर्षित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij