२०८३ साउन ९ शनिबार

राजपा र समाजवादी पार्टी रातारात एकिकरण, नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल

ई आर्थिक    बिहिबार, बैशाख ११ २०७७
14.1K
Shares
राजपा र समाजवादी पार्टी रातारात एकिकरण, नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल

झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको प्रयोगमा ल्याइने छ भने चुनाब चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता चिन्ह रहने छ

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकिकरण भएका छन । लामो समय देखि चर्चा चल्दै आएको यी दुई पार्टी बुधवार अबेर राति एकिकरणले पूर्णता पाएको छ ।

सहमति पत्रमा राजपा अध्यक्ष मण्डलका दुई नेता राजकिशोर यादव र अनिल झा काठमाडौंमा उपलब्ध नभएर एकिकरण संझौता पत्रमा हस्ताक्षण गरेका छैनन् ।
एकिकरण पछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने दुई दलबीचको सहमति भएको छ ।

चुनाव चिह्न भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति गरिएको छ भने पार्टीको झन्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङ्गको बीचमा तारा हुनेछ ।

राजनीतिक दल विभाजनलाई सहज बनाउन सरकारले यसै हप्ता अध्यादेश जारी गरेको थियो ।

समाजवादी पार्टी फुट्ने सम्भावनाबारे भइरहेका चर्चाबीच लामो समयदेखि एकताको तयारीमा रहेका भनिएका राजपा र समाजवादी पार्टीले एकता गर्ने निर्णय गरेको कतिपयको भनाइ छ ।

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि सिङ्गो मुलुक एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको अवस्थामा सरकारले ल्याएको अध्यादेशले थाती रहेको राजनीतिक गतिविधि अघि बढाउन बाध्य पारेको राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले जानकारी दिए ।

‘दलहरू विभाजन गर्ने अनि अस्थिरतातर्फ मुलुकलाई लैजाने जुन किसिमको व्यवहार देखियो त्यसलाई तत्काल रोक्नुपर्छ भन्ने हिसाबले हामीले पनि थाती रहेको राजनीतिक गतिविधिलाई अघि बढाएर टुङ्ग्याएका हौँ ।’

पार्टी एकीकरण राजनीतिक हिसाबले टुङ्गोमा पुगिसकेको अवस्थामा दुवै पार्टीको एकैखाले पृष्ठभूमि भएको र वैचारिक तथा सैद्धान्तिक हिसाबले पनि एउटै धरातलमा उभिएकाले सँगै अघि बढ्न असहज नहुने भण्डारीको भनाई छ ।

पहिचान र अधिकारका लागि सँगै लडेका पार्टी हुन । विगतमा निर्वाचन पनि सँगै लडेका पार्टी हौँ । प्रदेश नं २ मा सहकार्य गरेर हाम्रै गठबन्धनको सरकार छ । हामी करिबकरिब एउटै डुङ्गामा हिँडेको पार्टी हुनाले धेरै फरक नभएको भण्डारीले बताए ।

उनले भने ‘केही व्यवस्थापनका कुराहरू थिए । ती कुराहरूमा सहमति भएपछि सहजै अघि बढ्ने सकिने अवस्था भयो ।’

अध्यादेशमार्फत्‌ संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत सांसदको समर्थन भए पार्टी विभाजन गरेर नयाँ गठन हुनसक्ने व्यवस्था भएसँगै समाजवादी पार्टीलाई फुट्नबाट जोगाउनका लागि दुई दलको एकाएक एकीकरण भएको कतिपयको अनुमान छ । तर उक्त राजनीतिक निर्णयको दस्तावेजमा राजपाका दुई शीर्ष नेता राजकिशोर यादव र अनिलकुमार झाको भने हस्ताक्षर छैन ।

भण्डारीले भने सहमतिकै आधारमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका तर्फबाट आफूसहित महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव बैठकमा सहभागी भएर निर्णय गरेको दाबी गरेका छन् ।

‘उहाँहरूको सल्लाह र सहमतिकै आधारमा यो कुरा अगाडि बढेको छ’ भण्डारीले भने । ‘वैधानिक कुराहरू अघि बढ्नासाथ दुवै दलका अध्यक्ष मण्डल र आ–आफ्ना दलका केन्द्रीय समितिको सहमति र निर्णय लगायतका आवश्यक कानुनी प्रक्रिया सुरु हुनेछ ।’

समाजवादी पार्टीका तर्फबाट सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले सहमतिमा हस्ताक्षर गरेका छन् ।
उता समाजवादी पार्टी फुटको सँघारमा रहेको विषय भने बिहीवार बिहानसम्म पुष्टि हुन सकेको छैन ।

जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा पहिले दर्ता भएको खण्डमा सो पार्टी फुटाउन सहज नहुने जानकारहरू बताँउछन् । नवगठित पार्टी आधिकारिक रूपमा दर्ता हुनुअघि समाजवादी पार्टी टुक्र्याउन भने सातजना सांसदको आवश्यकता पर्नेछ । भण्डारीले भने दुवै पार्टीका नेता कार्यकर्ता सँगै रहेको दाबी गर्दै टुटफुटको सम्भावना नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij