२०८३ साउन १० आइतबार

प्रधानमन्त्रीलाई हेलिकोप्टरमा केक बोक्नेहरु मजदुरलाई एक मुठी चिउरा किन दिदैनन् ?

ई आर्थिक    आइतबार, बैशाख ७ २०७७
60.1K
Shares
प्रधानमन्त्रीलाई हेलिकोप्टरमा केक बोक्नेहरु मजदुरलाई एक मुठी चिउरा किन दिदैनन् ?

भोकले प्राण धान्न मुस्किल हुन थालेपछि मजदुरहरु कोशौ टाढा रहेको थातथलोतिर लम्किए । लालाबाला पिठ्युमा बोकेर हप्तौ दिनसम्मको हिडाई, प्रहरीको कुटाई, स्थानीयको भनाई सहदै भोक प्यासले शिथिल बनेका ती मजदुरको लागि राज्य झन आतंक बनेर उभिदियो । तिनै गरिब, मजदुरको भोटले सिंहसान भएका ओली महाराजहरुका नजरमा ती मजदुरको जीबनको कुनै मुल्य थिएन । उनीहरुको भोक, तिर्खा, पीडा र दुख हण्डरका बिषय त स्वभाबिक कुरा भए, ओली र उनको सरकारका लागि ।

क. बिराट स्वामी

गएको फागुन ११ गते एउटा हेलिकोप्टर ४० पाउण्डको केक बोकेर सुदूरपूर्बी जिल्ला तेह्थुमको ग्रामीण भेगतिर हानियो । नेपालको नक्साकारको भीमकाय केक बोक्नैका लागि हेलिकोप्टर चार्टर्ड गरिएको थियो ।

बालुवाटरको चिनियाँ दूतावास अगाडिको बिग केकमा बनाइएको उक्त केक पु¥याउन यती होल्डिङ्सका मालिक सोनाम शेर्पा सवार थिए । प्रतिपाउन्ड ८ सय रुपैयाँ मुल्यको हिसाबले ३२ हजार रुपैयाँको सो केक काठमाडौंबाट तेह्रथुम पु¥याउन चार्टर गरिएको हेलिकप्टरको भाडा साढे दुई लाख थियो । केही समयपछि मिडियामा आएको समाचार हेरेपछि हेलिकोप्टर र सोनामको गन्तब्यका बारेमा लोकले जानकारी पायो । यसपाली प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जन्म दिनलाई बिशेषरुपले मनाउने बिचार गरेछन् ।

जन्म दिन मनाउन केक आवश्यक पर्ने त भइहाल्यो । त्यही आवश्यकता पुर्ति गरेका रहेछन् यति कम्पनी र सोनामले । जन्म दिनको तडक भडकले स्पष्ट सन्देश दिन्थ्यो कि अर्को बर्षदेखि जनताले स्वस्फुर्तरुपमा आफ्नो जन्म दिन भब्यतापूर्बक मनाऊन । यसकै प्रचारका लागि हुन सक्छ, उनले राज्य कोषको ठूलै रकम खर्च गराएर आफू जन्मेर छोडेको गाउँ तेह्थुम पुगेर जन्म दिन मनाए ।

जन्म दिनको ब्यापक प्रचार–प्रसार पनि भयो । फागुन ११ गते उनको जन्म दिन पर्ने रहेछ भनेर देशभरिका नागरिकले जानकारी पाए । अब अर्को बर्ष स्वस्फुर्तरुपमा क–कसले जन्म दिन मनाउने हुन, हेर्न बाँकी छ । यती होल्डिङ्स र मालिक सोनामको त्यतिबेला धेरै चर्चा भयो । कसैले प्रधानमन्त्रीलाई प्रभाबमा पारेर जायज/नाजायज लाभ लिन त्यत्रो बिध्न गुलाम गरेको टिप्पणी गरे भने कसैले उक्त कम्पनी र मालिक शेर्पा निकै मनकारी भएको हुन सक्ने पनि बताए । सोनाम र यतिको मनको परीक्षण भने समयले गर्ने टिप्पणी गरिएको थियो, त्यतिबेला ।

समय बलवान छ भने जस्तै भयो, मनकारीहरुका लागि । बिश्वभर मानब जातिलाई अत्यन्त संकट बनाउँदै तुरुन्तै कोरोना भाइरसले साम्राज्य खडा ग¥यो । यसबाट नेपाल र नेपाली पनि अछुतो रहेनन् । अत्यन्त बिकसित र समृद्धशाली मुलुकलाई समेत हायलकायल बनाएको कोरोनाको छिटाले नै नेपालजस्तो गरिब र पिछडिएको मुलुकमा मानबीय र आर्थिक संकट देखिइहाल्यो । यही कोरोनासँग जुध्न यतिबेला सरकारले लकडाउन गरेको छ । लकडाउनको अबधि बढ्दै जाँदा दैनिक ज्यालादारीमा बिहान बेलुकीको हात मुख जोड्ने मजदुरको अबस्था अत्यन्त दयनीय बनेको छ । राहतको नाममा आएको सडेको ५ किलो चामलले अनिश्चित लकडाउलाई थेग्ने कुरै थिएन ।

भोकले प्राण धान्न मुस्किल हुन थालेपछि मजदुरहरु कोशौ टाढा रहेको थातथलोतिर लम्किए । लालाबाला पिठ्युमा बोकेर हप्तौ दिनसम्मको हिडाई, प्रहरीको कुटाई, स्थानीयको भनाई सहदै भोक प्यासले शिथिल बनेका ती मजदुरको लागि राज्य झन आतंक बनेर उभिदियो । तिनै गरिब, मजदुरको भोटले सिंहसान भएका ओली महाराजहरुका नजरमा ती मजदुरको जीबनको कुनै मुल्य थिएन । उनीहरुको भोक, तिर्खा, पीडा र दुख हण्डरका बिषय त स्वभाबिक कुरा भए, ओली र उनको सरकारका लागि ।

मानौं, मजदुर भनेको दुख र सास्ती भोग्नैका लागि जन्मिएका हुन । गरिब, दुखी ती मजदुरमाथि राज्यको यस्तो गैरजिम्मेवार ब्यबहार लोकले पचाएन । सिंहसानको चार दिवालभित्र रहेका ओली र उनको राजको कडा आलोचना हुन थाल्यो । आलोचना पटक्कै सुन्न नसक्ने ओली र उनको कोटरीले आलोचना गर्नेहरुप्रति सरकारी मिडिया खन्याएर बलियोसँग नै प्रतिबाद गरेको हो । तर ओली सत्ताको केही चलेन । अब उसलाई मजदुरका बारेमा केही कदम चाल्नै पर्ने दबाब बढ्यो । ओलीले सोचेछन् ‘भोकै तिर्खै हप्तौ हिडेको दृश्यले न सरकारको आलोचना भयो । हिड्नै प्रतिबन्ध लगाएपछि टन्टै साफ ।’

एक मुठी चिउरा र एक घुट्को पानी नपाएका ती मजदुरमाथि अझ अत्याचारको भाषामा ओली महाराज कड्किए, ‘ती मुल्यहीन प्राणीको चित्कार सुनेर लोकले सरकारको आलोचना गर्न थाल्यो, ती जहाँ पुगेका छन्, त्यही रोक्नु ।’ अब प्रहरीले हिड्न पनि प्रतिबन्ध लगायो । कोही उपत्यका बाहिरका ठाउँहरुमा अलपत्र त कोही राजधानीभित्रै अलपत्र परे । राजधानीमा अलपत्र पर्नेहरुमाथि सबैको आँखा पर्न थाल्यो । यस्तो सरकारी उदासिनता र अत्याचारको समाचार बन्न थाल्यो । झन चर्को आलोचना हुन थालेपछि लाज ढाक्न केही दर्जनलाई अहिले राती नै थानकोट कटाइएको छ ।

थानकोट कट्नेहरुको हरिबिजोग भएको छ । उपत्यकामा रहेका हजारौं मजदुरहरुको बिचल्लीको कथा सुन्ने कोही छैन । संसारमा के देखिएको छ भने केही अपबादबाहेक राज्य कहिले पनि गरिब, दुखी र मजदुर पक्षीय हुदैन । माक्र्सबादीहरु त राज्य भनेको एक बर्गले अर्को बर्गमाथि शासन गर्ने साधन हो भन्छन् । माक्र्सबादी स्कुलमै जन्मे, हुर्केका ओलीले राज्यको सन्दर्भमा कति ठाउँ यही पढाएका छन् । त्यसैले उनी ढुक्क देखिन्छन् कि यति र ओम्नीलाई दायाँ बायाँ राखेर मजदुर र किसानमाथि शासन गर्ने नै हो । शासितको दुख, पीर मर्का शासकले बुझ्नै होइन । यस्तो बेला निजी क्षेत्रले जनकल्याणकारी काम गरेको पनि सयौं दृष्टान्त छन् । हाम्रै मुलुकका निजी क्षेत्रका कर्यौ ब्यक्ति र संघ/संस्था आपतबिपतको बेला सक्रिय हुन्छन् ।

अहिले पनि केही सक्रिय देखिन्छन् । तर यहाँ के उदेक लाग्दो देखिएको छ भने प्रधानमन्त्रीको बर्थ डेको लागि केक बोकेर हेलिकोप्टर चार्टर्ड गर्न सक्ने यति र सोनामहरु कुन दुलोमा पसे ? सत्ता र शक्तिको मोजमस्तीका लागि लाखौं खर्च गर्न सक्ने यति र सोनामहरु संकटमा मजदुर र गरिब जनताका लागि एक प्लेट चिउरा र एक बोतल पानी लिएर किन बाटोमा निस्कन सकेनन् ? यति र सोनामहरुको मन र नियत यतिबेला खाली सडकमा छताछुल्ल भएको छ । यतिबेला सक्नेले नसक्नेलाई अन्तरमनदेखि नै सहयोग गर्ने बेला हो । यो नै उच्च मानब धर्म हो ।

संसारभर अहिले सक्षम र सक्नेहरुले अरुलाई सहयोग गरेर आ–आफ्नो राष्ट्रिय संकटमा मुलुकलाई गुन लगाइरहेका छन् । हाम्रो देशका यति र सोनामहरु भने करोड नाफा हेरेर लाख सहयोग गर्न कम्मर कसिरहेका छन् । यिनीहरुको नियत नै सत्ता र शक्तिसँग नजिक रहेर अकुत नजायज लाभ लिनुमा केन्द्रित हुने गरेको देखिन्छ । होइन भने प्रधानमन्त्रीका लागि त्यत्रो गर्न सक्नेले गरिब मजदुरको लागि सिन्को भाँच्न किन सक्दैन ? किनभने मजदुरबाट उसले कुनै लाभ लिन सक्दैन ।

प्रधानमन्त्री ओलीलाई केकको ब्यबस्था गरेर हेलिकोप्टर चार्टर्ड गरेबापत उसले राज्यसत्ताबाट कहाँ र कस्तो लाभ लिने भन्ने योजना बनाइसकेको छ । यस्ता यति र सोनामहरुकै राज भएको मुलुकमा नेपाल परिणत हुन खोज्दै छ । राज्यसत्ताबाट यस्ता यति र सोनामहरु पुरस्कृत हुन थालेपछि सामाजिक उत्तरदायित्व र समाजसेवाको भाबना किनारामा पर्दै जान थालेको छ । हिजोको परोपकार सहयोगी नेपाली संस्कार र संस्कृति कोमामा पुग्दैछ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली सत्तासिन भएपछि यति र सोनामहरु पुस्कृत हुने प्रचलन संस्थागत हुने क्रममा छ । त्यसैले यसका बिरुद्ध सामाजिक बहस चलाउने यो उपयुक्त बेला र अबसर हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij