ई–आर्थिक, काठमाडौं । बिहिबार औषधि किनेर घर फर्कदै गरेका केही सर्बसाधारणमाथि प्रहरीले निर्ममतापूर्बक कुटपिट ग¥यो । काठमाडौंको कलंकी चोकको उक्त घटनाको भिडियो हेर्दा नागरिकले आफूहरु औषधि लिएर आएको औषधिको झोला देखाएर सप्रमाण पेश गर्छन । तर प्रहरीले चित्त नबुझाएर मुख छोडेपछि ती सर्बसाधारण पनि केही कुरा फर्काउँछन् । नागरिकले सवाल जबाफ गरेकोमा प्रहरी आक्रोसित हुन्छ र निहत्थामाथि जाइलाग्छ ।
निर्ममतार्पर्बक प्रहरी आक्रमणको प्रतिकार गर्न नसकेर उनी गुहार माग्दै चिच्याउँछन् । उनीसँग रहेकी महिलाले केही प्रतिकार गरे पनि लाठीको र संगठित प्रहरीका अघि उनको केही लाग्दैन । यो भिडियो देखेर सामाजिक सन्जालमा आक्रोस पैदा भइरहेको छ । उनीहरुले प्रहरीको ज्याजति र सरकारको कडा आलोचना गरिरहेका छन् ।
कलंकीको घटना त्यही दिनको हो, जुन दिन चिकित्सकमाथि कुटपिट गरेको अभियोगमा महाराजगन्ज प्रहरी बृतको प्रमुखलाई कारबाहीस्वरुप त्यहाँबाट हटाएर रानीपोखरी सरुवा गरिएको थियो । ड्युटीबाट फर्केका टिचिङ अस्पताल महाराजगन्जका चिकित्सकमाथि ड्युटीमै निस्केका प्रहरीले अघिल्लो रात कुटपिट गरेका थिए । चिकित्सकहरुले दोषीलाई कारबाही नगरे आन्दोलित हुने चेतावानी दिएपछि बाध्य भएर त्यहाँका डीएसपीलाई रानीपोखरी तानेर छानबिन समिति बनाइएको छ ।
यि दुई प्रतिनिधि घटना सामान्य खालका छैनन् । औषधि लिएर फर्केको प्रमाण देखाउँदा देखाउँदै सर्बसाधारणमाथि निर्घात कुटपिट हुनु कसरी सामान्य हुन सक्छ ? त्यसैगरी म चिकित्सक हुँ, ड्युटी सकेर घर जाँदै छु भन्दा कुटाई खानु कसरी सामान्य रुपमा लिन सकिन्छ । कलंकी चोकमा भिडियो खिच्न सकेर मात्र घटना सार्बजनिक भयो । उता महाराजगन्जमा चिकित्सकहरुले आन्दोलनको चेतावानी दिएपछि मात्र घटना सार्बजनिक भयो । लकडाउनको बेला अति आवश्यक परेर बाहिर निस्केकामाथि प्रहरीका यस्ता ज्यादति कैयौं घटना दृष्यबाहिर छन् ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले मुलुकभर लकडाउन सुरु गरेपछि सुरक्षा जिम्मेवारीका हिसाबले प्रहरीको भुमिका बढेको छ । लकडाउनको उलंघन गर्न नदिन गृहमन्त्रालयले देशभर प्रहरी परिचालन गरेपछि प्रहरीको भुमिका बढेको हो । जिम्मेवारी र कर्तब्यका हिसाबले अहिले प्रहरीको भुमिका बढ्नु स्वभाबिक पनि हो । चिकित्सकले बिरामीको उपचारमा तल्लीन रहनु जस्तै हो, प्रहरी सडकमा बसेर लकडाउनमा हिडडुल गर्न नदिनु । त्यसो त प्रहरीको भुमिकाको नागरिक तहबाट स्वागत पनि भइरहेको छ । राष्ट्रिय संकटकको समयमा आफ्नो ज्यानको पर्बाह नगरी नागरिककै सुरक्षाको लागि प्रहरी रातदिन ड्यटीमा खटिएका छन् भनेर सामाजिक सन्जालमा प्रशंसा समेत भइरहेको छ । प्रहरी संगठनले यसप्रति गौरब गर्नुपर्छ ।
मुलुकमा लकडाउन भएको तीन हप्ता नाघिसकेको छ । लकडाउनको अबधि आगामी बैशाख १५ सम्म त सरकारले घोषणा नै गरिसकेको छ । अझै कति हुने हो, पत्तो छैन । आफ्ना सारा ब्यापार ब्यबसायलाई चौपट पारेर सरकारको निर्णयलाई साथ दिएर आम नागरिकले यतिबेला आफ्नो कर्तब्य निर्बाह गरिरहेका छन् । यो समुदाय र राष्ट्रप्रति नागरिकले निर्बाह गरेको जिम्मेवारी र कर्तब्य हो । यसलाई राज्यले वा कुनै तह तप्काले कम आँक्न मिल्दैन । यहाँ नागरिक र प्रहरीको तुलना गर्न सकिन्छ । प्रहरीले यतिबेला सडक र चोकहरुमा निस्केर ड्युटी गर्नु आफ्नो नोकरीको जिम्मेवारी पुरा गरेको हो ।
यसबापत उसले राज्यबाट तलब र अन्य सुबिधा प्राप्त गर्छ । लकडाउनको उलंघन गर्न नदिनु उसको नोकरीको जिम्मेवारी र कर्तब्य हो । किनभने लकडाउनलाई प्रभाबकारी बनाउन सरकारको निर्देशन छ । राज्यबाट तलब सुबिधा लिएकाहरुले राज्यको निर्णय कार्यान्वयन गराउन खटिनु अति सामान्य कुरा हो । तर नागरिकले आफ्नो लाखौं, करोडौंको ब्यापार ब्यबसायलाई चौपट बनाएर सरकारको लकडाउनको निर्णयलाई साथ दिनु चाहि असल र देशभक्त नागरिकको परिचय हो । यो देशभरिका नागरिकले देखाइरहेका छन् । यस हिसाबले आम नागरिकप्रति राज्य र राज्यका अंगहरु न्तमस्तक हुन जरुरी छ । अहिलेको जस्तो संकटको घडीमा नागरिकलाई अत्याबश्यक पर्न सक्छ । जस्तो कोही बिरामी पर्न सक्छ ।
कोही दीर्घरोगीको औषधि सकिएको हुनसक्छ । कसैलाई खाद्यन्नको समस्या हुन सक्छ । कसैलाई सुत्केरी ब्याथाले चाप्न सक्छ । यस्तो परिस्थितिमा नागरिक घर बाहिर निस्कनै पर्छ । उसले आफ्नो समस्या सुनाएपछि र त्यो समस्या जाहेज भएपछि उसलाई ड्युटीमा खटिएको प्रहरीले सक्दो सहयोग पु¥याउनुपर्छ । नागरिक र प्रहरीबिचको यस्तो सहयोग र सहकार्यले मात्र राष्ट्रिय संकटको सामना गर्न सकिन्छ । यदि प्रहरीले यस्ता कुरामा बिचार नपु¥याउदा सरकार र राज्यप्रति जनताको ठूलो आक्रोस पैदा गर्छ । आक्रोस बढ्दै जाँदा बिद्रोहमा परिणत हुन्छ र राज्यले ठूलो मुल्य चुकाउनुपर्छ ।
अहिले प्रहरीले सहनसिलता गुमाउने र मुर्ख बन्ने समय होइन । त्यसमाथि पनि संबेदनहीन बनेर निहत्था जनतामाथि आक्रमणमा उत्रनु त झन जनबिद्रोहको आधार तयार पारिदिनु हो । किनभने कोरोना संकटले जनतामा ठूलो निराशा ल्याएको छ । ठूलो लगानी जोखिममा परेको छ । संस्थागत र पारिबारिक आर्थिक संकट निम्तने सक्ने प्रष्ट संकेत देखिएको छ । कतिको रोजगारी गुम्दैछ । यो बेला आम नागरिकले धैर्य गरेर लकडाउनको पालना गरिरहेको छ । यस्तो अबस्थामा प्रहरीको उत्तेजित ब्यबहार किमार्थ सह्य हुदैन । सरकारले सोच्नुपर्छ, कतै सरकारबिरोधी र ब्यबस्थाबिरोधी तत्वको घुसपैठले त यस्तो हुदैछैन ?