ई–आर्थिक,काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दोस्रो चरणमा प्रबेश गरेको छ । हाम्रो कमजोर ब्यबस्थापनका कारण यो रोग अझ फैलिन सक्ने देखिएको छ । यो रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिहरुलाई बढी संक्रमण देखिएको छ । अहिलेसम्म यसको उपचारका लागि औषधि पत्ता लागेको छैन । तर कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरणका लागि शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण भएको उपचारमा संलग्न चिकित्सकहरुले बताइरहेका छन् ।
खानेकुराले हाम्रो रोग प्रतिरोधात्मक क्षमता निर्धारण गर्ने हुनाले स्वस्थ्य आहारविहार गर्नुपर्छ । प्रोटिन, खनिज पदार्थ, कार्बोहाइड्रेट , चिल्लो पदार्थ, भिटामिनहरुको मात्रा मिलाएर सन्तुलिन भोजन गर्दा रोगसँग लड्ने क्षमता अभिबृद्धि हुन्छ । यसका लागि तल उल्लेखित खानेकुरामा जोड दिन आवश्यक छ : भिटामिन सी प्राकृतिक खानेकुरामा प्रशस्त मात्रमा भिटामिन सी पाइन्छ । किनिएका औषधिका चक्कीमा भन्दा खानेकुरामा प्राप्त हुने भिटामिन सि अझ फाइदाजनक र लाभदायक हुन्छ । यसका लागि अमला, कागती, किवी, जुनार, मेवा, हरियो तरकारी, सागहरु आदि खानेकुरा खानुपर्छ ।
भिटामिन डी रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन डी को निकै महत्वपूर्ण भुमिका रहन्छ । भिटामिन डी हामीले घाममा पाउन सक्छौँ । अझ बिहानको घाम बढी उपयुक्त हुन्छ । हल्का घाममा एकछिन बस्दा भिटामिन डि पाउन सकिन्छ । भिटामिन ई गाढा रंगको हरियो सागपात सबैमा भिटामिन ई पाइन्छ । यसका अलावा सूर्यमुखीको बियाँ, ओखर, बदाम, एभोकाडो, ब्रोकाउली, पालुंगोमा प्रसस्त मात्रामा भिटामिन ई पाइन्छ ।
भिटामिन बी ६ यसले रक्क्तकोषिकाको उत्पादन गर्छ । रगतसम्बन्धी रोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यस्ता व्यक्तिले दूध, सखरखण्ड, पिस्ता, चना, केराउ, तोफु खानु राम्रो हुन्छ । रक्तकोषले काम गरेन भने कुनै पनि पौष्टिक तत्वले काम गर्दैन । भिटामिन बी १२ भिटामिन बी १२ विशेषगरी मांशाहारी भोजनमा पाइन्छ ।
माछा, मासु, अण्डा, दूध र दूधजन्य पदार्थमा यो भिटामिन पाइन्छ । यसले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामिन बी १२ को कमीले रक्तअल्पता हुने सम्भावना रहन्छ । मिनिरल अर्थात खनिज पदार्थ शरीरको प्रतिरोधात्मक क्षमता बढाउनका लागि खनिज पदार्थ भएका खानेकुरा पनि नियमित रुपमा खानुपर्छ । आल्मोन्ड, फर्सीको बियाँ, ओखर, बदाममा धेरै मात्रामा खनिज पदार्थ पाइन्छ । प्रोटिन बदाम, काजु, चना, टुसा उमारिएको गेडागुडीमा प्रशस्त प्रोटिन पाइन्छ ।
दाल, अन्डा, माछामासुबाट पनि प्रोटिन प्राप्त गर्न सकिन्छ । तर यस्ता खानेकुरा एकदम मज्जाले पकाएर मात्र खानुपर्दछ । शरीरमा कुनै रोग छ भने चिकित्सक र पोषणविद्को सल्लाहमा मात्रै बढी प्रोटिन भएका खानेकुराहरु खाने गर्नुपर्छ । प्रोबायोटिक खानाहरु प्रोबायोटिक खानाले पाचन शक्तिलाई एकदमै राम्रो गराउँछ र पाचनप्रणालीलाई सुुचारु गर्छ ।
दही, चिज, गुन्द्रक आदिले पाचन शक्तिलाई राम्रो गर्छ । प्राकृतिक एन्टिबायोटिक प्राकृतिक एन्टिबायोटिक खानेकुराले रक्त सञ्चार सन्तुलन गर्ने, धवनीहरु सन्तुलनमा राख्न र दुखाइ कम गरी धमनीहरु स्वस्थ्य राख्ने काम गर्छन् । बाहिरी आउने संक्रमणलाई निस्तेज गर्ने र कोषहरुको क्षयीकरण रोक्ने काम गर्छन् । त्यसैले यी खानेकुरामा विशेष ध्यान दिनुपर्छ । लसुन, अदुवा, बेसार, पानीमा यी तत्व पाइन सक्छन ।
गेडागुडी तथा दाललाई अंकुरण गरेर खाएको खण्डमा यसमा फाइबर, प्रोटिन पाइनुका साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ । दैनिक खानेकुरामा पोषिलो, झोलिलो सुपहरु बनाएर खाने गर्नुपर्छ। तातो झोलले शरीर तातो बनाउँछ, जसले गर्दा हत्तपत्त रुघाखोकी लाग्दैन। सुपबाट पाइने भिटामिन, आइरनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । त्यसैगरी दैनिक रुपमा व्यायाम, योगाजस्ता शारीरिक अभ्यासलले पनि मनलाई शान्त र चिन्तामुक्त बनाउन मद्दत गर्छ। यसले पनि शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । त्यस्तै जंक तथा प्रशोधित खानेकुरा आफु र बालबच्चाबाट टाढै राख्नु सर्बथा राम्रो हो । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई नष्ट गर्छ ।