ई आर्थिक, काठमाडौं । भैरहवा भन्सार कार्यालय आंशिक रुपमा सञ्चालन भएको छ । बुधबार साँझ ६ बजेसम्म भैरहवा भन्सार कार्यालयबाट ८५ मालवाहक ट्रक भारतबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
एलपी ग्यास बुलेट १५ , पेट्रोलियम पदार्थ बोकेका ट्रक चार, खाद्यान्न तथा कच्चा पदार्थ बोकेका ट्रक २१ र तरकारी, फलफूल बोकेका ट्रक ४५ वटा नेपाल आएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए ।
लकडाउनभन्दा पहिला भने दैनिक चार सयदेखि ६ सय ट्रक भारतबाट नेपाल आउने गरेका थिए । लकडाउन भएपछि नेपाल आउन डराएका भारतीय चालकको सुरक्षा नेपाली पक्षले गर्ने प्रत्याभूत गरेपछि हिजोदेखि भारतीय ट्रक नेपाल आउन थालेका हुन् ।
नेपाल आएका भारतीय ट्रकलाई पनि भारतमा सहजरुपमा पठाउन दुई देशको सहमति भएको छ । कोरोना भाइरस सङ्क्रमण देखिए पछि मानिसहरु आवतजावतमा रोक लगाइएको नेपाल भारत सीमामा मालवाहक ट्रक भने सहजरुपमा आउन जान पाउने सहमति भएको छ ।