ई–आर्थिक, कैलाली : भारतबाट फर्केका नेपालीहरुलाई प्रवेश रोकको विषयलाई लिएर कैलालीको गौरीफन्टा नाका तनावग्रस्त भएको छ । भारतका विभिन्न शहरबाट आएका नेपालीहरुलाई नेपाल प्रवेश नदिएपछि सुदूरपश्चिमको प्रमुख सीमा उक्त नाका तनाबग्रस्त बनेको हो ।
सुरक्षाकर्मीले आउन नदिएको भन्दै मंगलबार बिहानैदेखि उनीहरुले नाराबाजी समेत गरिरहेका छन् । नेपाल आउन पाउनुपर्ने भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । अत्यधिक भीड भएकाले सुरक्षाकर्मीलाई सम्हाल्न सकस भएको सुरक्षा स्रोतले बताएको ।
उनीहरुलाई अहिले प्रहरीको घेराभित्र रहेका छन् । कैलालीमा यतिखेर लकडाउन छ । करिब एक हजारभन्दा बढीको संख्यामा सुदूरपश्चिमको ९ वटै जिल्लाका बासिन्दाहरु त्यहाँ रोकिएका जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।
जिल्ला प्रशासन र मुख्यमन्त्रीले उनीहरुलाई के गर्ने भन्ने बारेमा गृह मन्त्रालयसँग समन्वय गरिरहेको बुझिएको छ । मन्त्रालयको सल्लाह अनुसार उनीहरु बारेमा उचित निर्णय लिइने बताइएको छ ।