२०८३ साउन ९ शनिबार

भारतमा लगाइने ‘जनता कर्फ्यु’ पालना गर्न मोदीको आग्रह, एक सातासम्म अन्तर्राष्ट्रिय उडान बन्द

ई आर्थिक    शुक्रबार, चैत्र ७ २०७६
3.6K
Shares
भारतमा लगाइने ‘जनता कर्फ्यु’ पालना गर्न मोदीको आग्रह, एक सातासम्म अन्तर्राष्ट्रिय उडान बन्द

ई–आर्थिक, काठमाडौं । कोरोना संक्रमण फैलिने त्रासले भारतले आउने आइतबार १४ घण्टा ‘जनता कर्फ्यु’को घोषणा गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै उक्त दिन बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किएर जनता कर्फ्यु पालना गर्न आग्रह गरेका छन् । उनले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै बस्न पनि आग्रह गरेका छन् ।

भारतीय नागरिकहरूले कोरोनाभाइरसको महामारीको डटेर सामना गरिरहेको बताउँदै उनले प्रत्येक नागरिक सहज र सतर्क रहन आवश्यक रहेकोमा जोड दिए ।

आफूलाई देशवासीहरूले कहिल्यै निराश नबनाएको उल्लेख गर्दै मोदीले जनतासँग केही माग्न लागेको बताए। ‘मलाई तपाईँहरूका आगामी केही हप्ता चाहियो आउने केही समय चाहियो’ उनले थपे ।

जनता कर्फ्युको अनुभव र सफलताले आगामी कोभिड–१९ को चुनौती सामना गर्न तयार पार्ने मोदीले सम्बोधनका क्रममा बताए ।

अहिले विश्वका ठूल्ठूला तथा विकसित देशहरूले कोरोनाभाइरसको महामारी झेलिरहेको पृष्ठभूमिमा भारत त्यसबाट प्रभावित नहुने सोच्नु गलत हुने मोदीको भनाइ छ ।

कोरोना भाइरसको त्रासले संसारभर ‘लकडाउन’, कफ्र्यु, नाकाबन्दी, बोर्डर बन्द भइरहेकै बेला भारतले जनता कफ्र्युको घोषणा गरेको हो ।
जनता कफ्युको घोषणासँगै भारतले १ साताको लागि अन्तर्राष्ट्रिय उडान समेत बन्द गरेको छ । आइतबार (२२ मार्च) देखि एक सातासम्म सबै नियमित अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरिएको थियो । त्यसैगरी भारतभर विभिन्न रुटमा चल्ने १ सय ६८ रेलको सेवा ३१ मार्चसम्म बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडान र रेल सेवा बन्द गरिएपछि भारतका विभिन्न सहरबाट घर फर्कन चाहने नेपाली समेत प्रभावित हुने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij