रोकिएको एसईई परीक्षा कहिले होला ?
ई–आर्थिक, काठमाडौं । भोलिबाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा अन्तिम समयमा आएर स्थगित भएको छ । कोरोना भाइरस संक्रमण त्रासका कारण सरकारले यस्तो निर्णय गरेको हो ।
तत्काललाई परीक्षा स्थगित गर्ने निर्णय गरेपनि स्थगित परीक्षा कहिले हुन्छ भन्ने बारेमा सरकारले केही निर्णय गरेको छैन । एसईई परीक्षा रोक्न माग बढिरहेसँगै सरकार यो निर्णयमा पुगेको हो । सरकारले अन्य शैक्षिक संस्थाहरु पनि बन्द गर्ने निर्णय गरिसकेको छ ।
कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको थियो । यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो । तर समितिको उक्त निर्णय २४ घण्टा पनि टिकेन ।
लगतै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपां)को सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि उपप्रधानमन्त्री पोखरेलले त्यसैलाई आधार मानेर दिउँसो बसेको समन्वय समितिकै निर्णय हुने गरी परीक्षा स्थगितको घोषणा गरेका हुन् । यस वर्ष ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागि हुँदैथिए ।
चैत मसान्तसम्म विद्यालय तथा कलेज पनि बन्द
कोरोना भाइरस संक्रमणको त्रासको कारण सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार यस्तो निर्णय गरेको हो ।
त्यसैगरी सरकारले बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ । कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षा के हुने भन्नेबारे चाहिँ निर्णयमा उल्लेख गरिएको छैन ।